काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा र नेपाल उद्योग परिसंघ (सिएनआई)का प्रतिनिधिहरूले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना नहुने निष्कर्ष निकालेका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल गर्दै उक्त निष्कर्ष निकालेका हुन् ।
सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मासँग भेट गरेको हो । त्यस क्रममा सिएनआईमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति राखेका थिए । उनले विदेशी मुद्राको सञ्चितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेको जानकारी दिइएको छ ।
अग्रवालले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए । कार्यपत्रमा उनले नेपाल र श्रीलंकाको कूल गार्हस्थ उत्पादन क्रमशः ३३.६५ र ८०.७ बिलियन डलर रहेको, नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।
यस्तै कूल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलरमात्रै रहेको कार्यपत्रमा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय मूल्य शृंखलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति (मूल्यवृद्धि) ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्रमा उल्लेख छ । ‘अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मुख्य सूचकांकमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरै मजबुत रहेको छ,’ कार्यपत्र प्रस्तुत गर्दै अग्रवालले भने ।
सिएनआई अध्यक्ष अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका थिए । उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक–फरक बनाउन पनि सुझाव दिएका थिए ।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउ“दै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए । अध्यक्ष अग्रवालले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त दुई प्रतिशत ब्याजदर दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
अर्थमन्त्री शर्माले श्रीलंकास“ग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको जानकारी दिएका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिनेगरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
उनले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नतिजा देखिने सुधार गर्ने दाबी गरे ।