

काठमाडौं– नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई पर्यटन क्षेत्रलाई पुर्ण सञ्चालनमा ल्याई विदेशी मुद्राको सञ्चिति बढाउनकालागि विभिन्न सुझाब दिएको छ। राष्ट्र बैंकका अनुसार सरकारले तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना सहितको सुझाव दिएको जनाएको छ । बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले सुझाब दिएको हो ।
बैंकले पर्यटन प्रबद्र्धनबाट विदेशी मुद्राको संकट टार्न सकिने निष्कर्ष निकाल्दै सुझाब पेश गरेको छ । मुलुकको अर्थतन्त्र खस्किँदै गएको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले पर्यटन क्षेत्रमार्फत सम्भावित विकल्पका लागि सुझाव दिएको जनाएको छ । यस अन्तर्गत नेपाल भ्रमण वर्षका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेदेखि मेडिकल टुरिज्जमको प्रवद्र्धनमा जोडदिएको छ ।
मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा लिइँदै आइएको पर्यटन क्षेत्र प्रवद्र्धनकालागि तत्काल नेपाल भ्रमणमा आउने पर्यटकका लागि भिसा तथा नवीकरण, प्रवेश, रोल्टी लगायत शुल्क अनलाइनमार्फत गराउन आवश्यक रहेको जनाइएको छ । विभिन्न गन्तब्यको पहिचान र सुचना नेपाल पर्यटन बोर्डमा एउटै आधिकारिक साइटमा राख्दा पर्यटकलाई थप सहज हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन राष्ट्र बैंकले सरकारलाई सुझाएको छ । भ्रमणमा आउने सबै वर्गका पर्यटकलाई ध्यानमा राखि तत्काल होटल तथा रिसोर्टको क्षमता अनुसारको स्तर र मापदण्ड तोक्नु पर्ने राष्ट्र बैंकले सुझाब दिएको छ ।
विदेशी पर्यटकको आगमन वृद्धिका लागि विभिन्न मुलुकमा रहेका कुटनीति नियोगसँगको समन्वय थप प्रभावकारी बनाउन समेत सुझाब दिएको छ । विदेशी पर्यटकको प्रवल सम्भावना रहेका मुलुकमा नेपाल वायुसेवा निगमको एयर कनेक्टिभिटी जोड्न आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ ।
पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै नेपाल दुरसंचार प्राधिकरणको सहकर्यमा यातायात र पर्यटकीय स्थलमा निशुल्क इन्टरनेटको व्यवस्था गर्न राष्ट्र बैंकले सुझाब दिएको छ । मध्यकालिन योजना अन्तर्गत निजी क्षेत्रको सहभागितामा मुलुकको पर्यटन प्रचारप्रसार गर्न आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ । दीर्घकालिन योजना अन्तर्गत फस्टाउँदै आएको साहसिक पर्यटकीय गतिविधी हुने गन्तब्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने राष्ट्र बैंकको सुझाब दिएको छ । स्थानीय पर्यटन परियोजना विकासका लागि स्थानीय तहको समेत साझेदारी गरि कार्यक्रम अगाडी बढाउन पनि बैंकले सुझाब दिएको छ ।
पर्यटनकालागि आकर्षण गर्ने विभिन्न सम्भावना बोकेका गन्तब्यलाई व्यापारीकरण नगरी हिलिङ, मेडिटेशन, वेलनेस पर्यटनको अवधारणामा प्रवर्धन गर्न आवश्यक रहेको राष्ट्र बैंकको सुझाबमा उल्लेख छ । भ्रमणमा आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउनका लागि तालिम, अभ्यास, आराम लगायत गतिविधी विस्तार गर्ने ब्यवस्था मिलाउन पनि सुझाब दिइएको छ । जलविहार पर्यटनलाई पनि बढाउन सुझाएको छ । नेपाल वायुसेवा निगमको व्यवसायिक र वित्तीय सुधार गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आक्रमक बनाउने सुझाव दिइएको छ ।