काठमाडौं - एलसी नखोल्ने बैंकहरुको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएकाे छ । अत्यावस्यक वस्तुवाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको हाे ।
आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २० औँ हजार व्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न सक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुन जाने भएको भन्दै तीन महासंघले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गर्ने भएका हुन् ।
सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक रुपमा आग्रह गर्ने निर्णय गरेका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको संचिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न वैकल्पिक व्यवस्था अलवम्वन गर्नु पर्ने खाँचो औंल्याए । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य वैकिल्पिक व्यवस्था अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उनको भनाई छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताएका छन् ।
यस्तै नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फि समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनैवटा संस्था संयुक्तरुपमा लागि पर्नुपर्ने खाँचो औंल्याए ।
सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाको तर्फवाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघका सुनचाँदी क्षेत्रमा काम गर्ने छाता संस्था हुन् ।