[caption id="attachment_24919" align="alignnone" width="300"]

lamjung[/caption]
लमजुङ - मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक मासिक रु ५०० रकम प्राप्त गर्ने भएका हुन् ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने , “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ ।
पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको पालिकामा ९३ एकल पुरुष रहेका छन् । गाउँपालिकाले तीन/तीन महिनामा भत्ता वितरण गर्ने निर्णय गरेकाे छ । साे निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताए ।