काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार त्यहाँ पुगेका हुन्।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे।
प्रधानमन्त्री शाहले बुधबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। उनी न्युयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने छन्।
प्रधानमन्त्री शाहले भोलि बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह काठमाडौंबाट मंगलबार साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहाहुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका थिए।