- प्रधानमन्त्री शाहसँग सभापति लामिछानेको सम्बन्ध राम्रो नरहेको भन्ने सन्देश बाहिर गएकोले त्यसको हल हुनेगरी शैली बदल्न सभापति लामिछानेको आग्रह
- सरकारको कार्यसम्पादनमा सुधार गर्नुपर्ने, कार्यसम्पादनलाई अझै व्यवस्थित गर्न र गतिशील तुल्याउन सुझाव
- अध्यादेशबाट सरकार चल्न थालेपछि संसद् अधिवेशन चाँडै बोलाउने विषयमा तयारी गर्न लामिछानेको सुझाव
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटेका छन्। प्रधानमन्त्री शाह बिहीबार दिउँसो १ बजे सभापति लामिछाने भेट्न बूढानीलकण्ठ पुगे।
भारत भ्रमण सकेर फर्किएको तीन दिनपछि प्रधानमन्त्री शाह लामिछाने निवास बूढानीलकण्ठ पुगेका हुन्। भेटमा पाँच घण्टा कुराकानी भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए। भेटमा आउँदो स्थानीय तह निर्वाचनको तयारी, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री र सरकारका कामकारबाही तथा अध्यादेश र आगामी संसद् अधिवेशनका बारेमा पनि कुराकानी भएको प्रवक्ता खरेलले बताए। ‘भेटमा विशेषगरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो,’ प्रवक्ता खरेलले भने।
भेटमा विशेषगरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो।
जगदीश खरेल
प्रवक्ता, रास्वपा
प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहाद्र्रपूर्ण भएको खरेलको दाबी थियो। प्रधानमन्त्री शाहले भारत भ्रमण उपलब्धिमूलक बनेको रिपोर्ट सभापति लामिछानेलाई दिएको रास्वपाका नेताहरु बताउँछन्। लामिछानेले पारवहन, हवाई रूटलगायतका विषयमा नयाँ समझदारी जुटेको सन्दर्भ उल्लेख गर्दै भ्रमण सफल भएको जवाफ दिएका थिए।
यद्यपि लामिछानेले सरकारको शासनशैलीप्रति असन्तुष्टि जनाएको लामिछानेको सचिवालयले जनायो। भेटमा पार्टीभित्रको टकरावको विषय बाहिर चलेको टिकाटिप्पणीबारे पनि छलफल भएको थियो। पछिल्लो समय पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच प्रहरीको आइजिपी परिवर्तन, अदालतको कामकारबाहीलाई लिएर टकराव बढेको चर्चा छ। सरकारको नेतृत्व गरिरहेका शाहले पार्टीसँग कुनै राय नलिने र कुनै जानकारी नदिई काम गर्ने आरोप रास्वपाकै सांसदहरुले लगाउँदै आएका छन्।
यस विषयमा दुई नेताबीच छलफल भएको र सभापति लामिछानेले असन्तुष्टि जनाएको लामिछानेको सचिवालयले जनायो। ‘प्रधानमन्त्री र सभापतिको सम्बन्धलाई लिएर अनेकन चर्चा छन्। सम्बन्ध राम्रो नरहेको भन्ने हल्ला पनि भयो। भेटले त्यसबाट पार्टी पंक्तिमा, नेता-कार्यकर्तामा भ्रम र अन्योल पर्न गएको विषय पनि छन्। त्यसबारे कुराकानी भएको थियो,’ लामिछानेको सचिवालयले भन्यो।
सरकारको कार्यसम्पादनमा सुधार गर्नुपर्ने ठाउँ छन्। त्यसलाई मिलाएर लैजान, कार्यसम्पादनलाई अझै व्यवस्थित गर्न र गतिशील तुल्याउन सभापतिले सुझाव दिनुभएको छ।
सभापति लामिछानेको सचिवालय
कुराकानीका क्रममा सभापति लामिछानेले सरकारको कामकारबाहीलाई गति दिन सुझाव दिएका थिए। ‘सरकारको कार्यसम्पादनमा सुधार गर्नुपर्ने ठाउँ छन्। त्यसलाई मिलाएर लैजान, कार्यसम्पादनलाई अझै व्यवस्थित गर्न र गतिशील तुल्याउन सभापतिले सुझाव दिनुभएको छ,’ लामिछानेको सचिवालयले भन्यो।
सभापति लामिछाने र प्रधानमन्त्रीबीच स्थानीय तह निर्वाचन र प्रदेश तह निर्वाचनबारे पनि छलफल भएको थियो। पछिल्लो समय प्रधानमन्त्री शाहले अर्कै दल खोलेर स्थानीय निर्वाचनमा उत्रने चर्चासमेत चलेको छ। यस विषयमा दुई नेताबीच छलफल भएको र आफूले नयाँ दल खोल्ने विषयमा शाहले सोच्दै नसोचेको बताएका थिए।
भेटमा सभापति लामिछानेले पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए। रास्वपाले छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशबाट सुरु भएर गण्डकी प्रदेशमा पुगेर सम्पन्न हुने छ।
सबै प्रदेशमा लामिछानेले सम्बोधन गर्ने
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा मंसिर १२ र १३ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशमा मंसिर १४ र १५ गते धनगढीमा तथा कोशी प्रदेशमा मंसिर १७ र १८ गते धरानमा प्रशिक्षण कार्यक्रम हुने छ।
त्यस्तै, बागमती प्रदेशमा मंसिर २० र २१ गते काठमाडौंमा, लुम्बिनी प्रदेशमा मंसिर २३ र २४ गते भालुवाङमा तथा गण्डकी प्रदेशमा पुस १ र २ गते पोखरामा प्रशिक्षण आयोजना गरिने छ। सबै प्रदेशका प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसैगरी सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच अध्यादेश र आगामी संसद् अधिवेसनबारे पनि छलफल भएको छ। संसद् अधिवेशन मंसिरमा बोलाउनेबारे दुई नेताबीच छलफल भएको लामिछानेको सचिवालयले जनायो।