काठमाडौं- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्।नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन्।
बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन्।
त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन्। वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक प्राप्त गरेकी थिइन्।
शनिबार र आइतबार चलेको उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडीको सहभागिता रहेको थियो।