काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो।
कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै अविजित अर्धशतक प्रहार गरे। उनले ३३ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए।
यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे। पवन सर्रफले २१ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए। अन्तिमतिर गुल्सन झाले आक्रामक ब्याटिङ गरे। उनले ६ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाएर टोलीको स्कोर उकासे।
यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आएका चसिन शर्मा भने खाता नै नखोली आउट भए। दिपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए। नन्दन यादव २ रनमा अविजित रहे। बलिङतर्फ चितवन राइनोजका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २-२ विकेट लिए।
यस्तै, रिजन ढकाल र कप्तान सिकन्दर राजाले १-१ विकेट हात पारे।अब चितवन राइनोजले जितका लागि निर्धारित २० ओभरमा १५४ रन बनाउनुपर्नेछ।