काठमाडौ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो। सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए। हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ। छ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकाको तेस्रो स्थानमा छ।
जनकपुरले पनि हालसम्म पाँच खेल खेलेको छ। उसले दुईमा जित र तीनमा हार व्यहोरेको छ। चार अङ्कसहित जनकपुर पाँचौँ स्थानमा छ।