काठमाडौं– गत पुसमा विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्वमा आएका गगनकुमार थापाले वैधानिकरुपमै १५औं महाधिवेशन गरेर सभापतिमा निर्वाचित भएका छन्। २२७ जनाका लागि भएको निर्वाचनमा गगनले आफूअनुकूल नेताहरुसमेत कार्यसमितिमा पाएका छन्।
थापाले अझै पदाधिकारीमा चार जना सहमहामन्त्री र केन्द्रीय सदस्यमा ६६ जना मनोनीत गर्न पाउने छन्। कूल २९७ जनाको कार्यसमितिमा गगनले प्रवक्ता र कोषाध्यक्ष पनि आफू अनुकूलको मनोनीत गर्न पाउने छन्।
गएको ३५ वर्षमा गगनले विभिन्न आरोहअवरोह पार गर्दै कांग्रेसको शक्तिशाली पदमा पुगेका हुन्। २०४६ सालको जनआन्दोलनताका वनस्थली स्कुलमा कक्षा ९ मा पढिरहेका बेला थापाले बाल कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।
क्याम्पस पढ्न थालेपछि थापा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)को राजनीतिमा सक्रिय भए। नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए।
२०५३ मा त्रिचन्द्र स्ववियुमा सचिव निर्वाचित २०५५ मा स्ववियु सभापति भए। २०५७ मा नेविसंघ उपसभापति बनेका थापा २०५९ मा महामन्त्री भए। तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार अपदस्त गरी शासनसत्ता हातमा लिएका बेला दुई वर्ष थापाले नेविसंघको महामन्त्री भएर काम गरे।
पहिलो संविधानसभा चुनावमा समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए। सोही समयमा कृषि तथा जलस्रोत समितिको सभापति बनेका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०७३ मा प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बने।
०७४ को चुनावमा तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी)को लहर आउँदा उनी काठमाडौं–४ बाट निर्वाचित भए। २०६७ मा भएको कांग्रेसको १२औं महाधिवेशनमा लोकप्रिय मत पाएर केन्द्रीय सदस्य बनेका थापा २०७२ मा भएको १३औं महाधिवेशनमा महामन्त्रीका लागि मैदानमा उत्रिए। तत्कालीन कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उठेका उनी तेस्रो भए।
२०७८ मा भएको १४औं महाधिवेशनमा तत्कालीन शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर मैदानमा उत्रिएका थापा दुईतिहाइ मतसहित विजयी भए। सोही महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा उनले भरपर्दा सारथी पाए।
गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि उक्त मुद्दा उठाएर समयमै नियमित महाधिवेशनका लागि हस्ताक्षर अभियान चल्यो। तत्कालीन संस्थापनपक्षले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगराउने नीति लिएपछि नियमितका लागि गरिएको हस्ताक्षर प्रयोग गरेर थापा र शर्माले विशेष महाधिवेशनको माग गरे।
पुस २७–३१ मा विशेष महाधिवेशन भयो। तत्कालीन सभापति देउवाको असहमतिका बाबजुद गरिएको विशेष महाधिवेशनबाट थापाले कांग्रेस नेतृत्व हत्याए। तत्कालीन संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको थियो।
उक्त कारबाहीलाई विशेष महाधिवेशनको हलबाट खारेज गराएर अगाडि बढेका थापा–शर्माले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट पनि वैधानिकता पाए।
१४औं महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको दुईतिहाइ शक्ति थापाको नेतृत्वमा एकाकार हुन पुगेको छ। यद्यपि देउवा समूहले असन्तुष्ट ४० प्रतिशत कार्यकर्तालाई संगठित गरी समानान्तर महाधिवेशन गरिरहेको छ। यस्तो अवस्थामा आफूले सबैलाई मिलाएर लाने दाबी थापा गर्छन्। ‘केन्द्रीय समितिलाई प्रभावकारीरूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो। पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ,’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले भने।
सभापति थापाले पार्टीभित्रको एकता अहिलेको मुख्य आवश्यकता रहेको पनि उल्लेख गरे। आन्तरिक प्रतिस्पर्धाका कारण उत्पन्न हुन सक्ने विभाजनलाई अन्त्य गर्दै सबै पक्षको सहकार्यमा पार्टीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। ‘छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउने छु। यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौं,’ थापाले दाबी गरे।
शपथग्रहण आज
१५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाको शपथग्रहण आज हुने भएको छ। उनको शपथग्रहण आज फूलपातीका दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्यसचिव राजु कटुवालले जानकारी दिए। कटुवालले सभापतिको शपथग्रहणमात्र आज गर्ने र अन्यको भने दसैंपछि नै हुने बताए। ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ। अन्य त कतिपय दसैं मनाउन जिल्ला जिल्लामा गइसक्नुभएको छ। उहाँहरूको एकैपटक दसैंपछि हुन्छ,’ कटुवालले भने।
कांग्रेस केन्द्रीय समितिमा १५ इन्जिनियर
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन्।
कांग्रेसको नयाँ कार्यसमितिमा १५ जना इन्जिनियर निर्वाचित भएका छन्। कांग्रेसको विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो। सोहीअनुसार चिकित्सक, विद्यावारिधि गरेका विज्ञ तथा इन्जिनियरहरू निर्वाचन प्रक्रियाबाट केन्द्रीय समितिमा पुगेका हुन्। विषयगत मात्र नभएर खुल्ला प्रतिस्पर्धामा पनि डाक्टर, इन्जिनियरको उल्लेख्य सहभागीता रहेको छ।
प्रदेशगत तथा युवा समूहबाट निर्वाचित हुनेमा पनि डाक्टर र इन्जिनियरको संख्या उल्लेख्य छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भएका छन्। बागमती प्रदेशको खुला केन्द्रीय सदस्यमा प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला समूहमा डा. कला पन्त तथा खुला युवा समूहमा इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशबाट ३५ वर्षमुनिका युवाको खुला समूहमा इन्जिनियर भुवनराज भट्ट निर्वाचित भएका छन्। सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यतर्फ इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भएका छन्। नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी, पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। पेशागत विषयगत क्षेत्रको कांग्रेसको नयाँ केन्द्रीय समितिमा चिकित्सक, इन्जिनियर तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिले पार्टीभित्र पेशागत दक्षता र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप महत्व दिएको देखिन्छ। स्वास्थ्य, पूर्वाधार, शिक्षा, विज्ञान तथा प्रविधिजस्ता क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले नीति निर्माण र पार्टीको संगठनात्मक काममा विषयगत ज्ञान उपयोग गर्ने अवसर प्रदान गर्न सक्छ।
गगन नेतृत्वको टिममा को को बने पदाधिकारी ?
महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका छन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए।
सभापतिमा तीनजनाको उम्मेदवारी परेपनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए।
वरिष्ठ उपसभापतिमा शर्मा र उपसभापति (महिला)मा भुसाल निर्विरोध चयन भए। खुलातर्फ भण्डारी र आचार्य उपसभापतिमा निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा चौधरी निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।
संगठन सञ्चालन, नीति कार्यान्वयन र नेतृत्वसँग समन्वय गर्न प्रमुख भूमिकामा देखिने महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा डिला संग्रौला निर्वाचित भएका छन्। योसँगै संग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बनेकी छन्।
कांग्रेसमा सहमहामन्त्रीको पद ८ बाट १५ पुर्याइएको छ। जसमध्ये ४ पदमा सभापतिले मनोनित गर्न पाउनेछन् भने ११ जना निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ।
१५औं महाधिवेशनबाट खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित हुँदा आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन्।
दलित कोटाबाट प्रकाश रसाइली स्नेही निर्वाचित हुँदा मधेसी कोटाबाट अजयकुमार चौरसिया, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
मुस्लिमतर्फ मोहम्मद फिरदोस आलम निर्वाचित हुँदा अल्पसंख्यक सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित भए। खसआर्यतर्फ मनोजमणि आचार्य र थारु सहमहामन्त्रीमा योगेन्द्र चौधरीको अग्रता कायमै रहेको छ।

को को बने खुलातर्फ केन्द्रीय सदस्य ?
केन्द्रीय सदस्य महिला खुलातर्फ संसदीय दलकी प्रमुख सचेतक वासना थापा, सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी विजयी भएका छन्।
पूर्वसांसद कुसुमदेवी थापा र पूर्व राष्ट्रियसभा सदस्य धनाकुमारी थापा, इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्कासँगै अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य बनेका छन्।
यसैगरी चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापामगर, गंगा दाहाल र उमा दाहाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य (महिला खुला)मा ३६ जना चुनावी प्रतिष्पर्धामा थिए। कांग्रेसको विधानअनुसार यो क्लस्टरअन्तर्गत १५ जना निर्वाचित हुने व्यवस्था छ।
४५ खुला केन्द्रीय सदस्यमा ललितपुरका मेयर चिरीबाबु महर्जनले लोकप्रिय मत पाए। महर्जनले ५३३० मत पाउँदै निर्वाचित हुँदा खुला केन्द्रीय सदस्यमा निश्कल राई, ईन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्दराज पोखरेल, ई. मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रवल थापा निर्वाचित भएका छन्।
यसैगरी गणेश लामा, राजिव कोइराला, हिमाल दत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, बिद्वान गुरुङ, अर्जुन प्रसाद जोशी, ई. अमृत ज्ञवाली, ई. नवराज त्रिपाठी, सन्दीप राना, भरत कुमार शाह, नरेन्द्र कुमार केरुङ, मिन कृष्ण महर्जन, बलदेव तिमल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय पनि खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कुमार लुइटेल, ई. ऋषि कोइराला, ई. दिपकबाबु कँडेल, उज्जवल प्रसाद बराल, किरण के.सी, दिपक भट्टराई, महेन्द्र कुमार शर्मा, डा. सुरज राज काफ्ले, डा. मुकेशराज काफ्ले, मदन कृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाई, लेखनाथ पोख्रेल, किरण किशोर घिमिरे, रवि सिंह, डा. कृष्ण प्रसाद पौडेल, तिलक बहादुर रानाभाट, प्रदिप कुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराम श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधान्सु कोइराला पनि ४५ भित्र अटेका छन्।
आदिवासी जनजाति महिलातर्फ जनजाति महिलातर्फ गीता गुरुङ, डा.गङ्गालक्ष्मी अवाल, रेणुका काउछामगर, सपनाराज भण्डारी जोशी, सिताकुमारी राना मगर, प्रमिला राई, लीलादेवी बोखिम लिम्बु, पुनम लामा निर्वाचित भएका छन्।
आदिवासी जनजाति खुलामा तीर्थ लामा, ई अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ निर्वाचित भएका छन्।
दलित क्लस्टरबाट दलित महिला ५ सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा कमला नेपाली, छाँया सुनार, रुपा बिक, शान्ति परियार बिक र सिता मिजार निर्वाचित भएका छन्।
दलित मधेसी तर्फको धमेन्द्र पासवान निर्वाचित भए। दलित खुला ८ सदस्यमा राजु परियार, शिवबहादुर सुनार, सागर परियार, हरिशरण नेपाली, अम्मरबहादुर बराइली, डा. डिबी सुनार, दिपक सोनी र मञ्जित ताम्राकार निर्वाचित भएका छन्।
३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा.आयुस बगाले, ई.शैलेष मिश्र, सचिन तिमल्सेना, ई.रोशन बस्नेत र सुशील भट्ट छन्।
यो क्लस्टरमा भूगोलतर्फमा एक पुरुष र एक महिला गरी १४ जना थप केन्द्रीय सदस्य निर्वाचित भए।
मधेसीतर्फ अनिलकुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिव दास ठाकुर, जितेन्द्र नारायण देव, दिनेशकुमार यादव, असर्फी शाह, उमेश चन्द्र यादव, मि. अशोक कुमार शाह निर्वाचित भए।
महिला मधेसीतर्फ डा. मधु कुमारी ठाकुर, रेखा कुमारी यादव, अन्जु झा, मिनाक्षी झा र गिता कुमारी यादव निर्वाचित भए।
खसआर्य कोटामा ई. लक्ष्मण के.सी., भीम पराजुली, जगदीश चन्द्र उपाध्याय, राजेन्द्र के.सी.,जनार्दन सिंह क्षेत्री, उत्तमराज जोशी,अनुज चापागाई, कृष्ण प्रसाद कोइराला, माइकल रामचन्द्र अर्याल, गणेश सापकोटा निर्वाचित भए।
महिलातर्फ डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गीता देवकोटा, कृष्णकुमारी बस्नेत, बिनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पा देवी खड्का निर्वाचित भए।
थारुतर्फ डा. भोगेन्द्र प्रसाद चौधरी, जनक राज चौधरी, वेद नारायण गच्छदार, साजन कुमार महतो, डा जीवन राना र डा प्रमिलाकुमारी गच्छदार निर्वाचित भए।
मुस्लिमतर्फ डा अताबुल मंसुरी, मो इर्शाद अन्सारी, अब्दुल रज्जाक गद्दी, जमिला खातुन र सनम वेगम पिछडिएको क्षेत्रतर्फ दिपकजंग शाह, सुशीला वम, अपंगतातर्फ अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भए।
भुगोलमा कोशीबाट मृदुला कोइराला, डम्बरबहादुर खड्का,मेदनीप्रसाद सिटौला र दीपनकुमार श्रेष्ठ, ३५ वर्ष मुनितर्फ डा योशिका भट्टराई, इ हेमकाजी बस्नेत निर्वाचित भए।
मधेसबाट मेघा शाही, डा अन्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी, विनोदकुमार खनाल, ३५ वर्ष मुनिबाट ममता शर्मा, गौरव पाण्डे निर्वाचित भए।
बागमतीबाट हरिप्रभा खड्की, प्राडा सुर्यकान्त घिमिरे, इ रोहित पौडेल, सन्तोस चालिसे, रजनी थापा ३५ वर्ष मुनिबाट, अंशुल केसी निर्वाचित बने। गण्डकीबाट महिलामा सरस्वती अर्याल तिवारी, खुलामा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ, खुमाप्रसाद अर्याल, ३५ वर्ष मुनिबाट डा कला पन्त, ई सुवास पौडेल निर्वाचित भए।
लुम्बिनी प्रदेशबाट बालकुमार भण्डारी, कमलकिशोर घिमिरे, अमरप्रसाद भण्डारी, प्रचण्ड विक्रम न्यौपाने, ३५ वर्ष मुनिबाट सुष्मा पाण्डे र अनुराग खड्का निर्वाचित भए। कर्णालीबाट रमादेवी खड्का, राजीवविक्रम शाह, खड्गबहादुर शाही, दिक्पालकुमार शाही, ३५ वर्ष मुनिबाट भगवती शाही, मोहन राना निर्वाचित भए।
सुदूरपश्चिम प्रदेशबाट अम्बिकाकुमारी चलाउने, जनक चटौत, दिवानसिंह विष्ट, बहादुर सिंह थापा, रिता शाही ३५ वर्ष मुनिबाट, ई भुवनराज भट्ट निर्वाचित भए।
नेपाली जनसम्पर्क समितिबाट सिता सापकोटा घिमिरे र चन्द्र अधिकारी, युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही, ओसियाना अमेरिका क्षेत्रबाट सिए विद्याभुषण कार्की, मध्यपूर्व क्षेत्र पुरुषोत्तम खनाल, प्यासिफिक क्षेत्र डा बलराम श्रेष्ठ, भारतबाट बालकृष्ण पाण्डे निर्वाचित भए।
पेसागतबाट डा. केदारनरसिंह के.सी., प्रा.डा. जगदीशचन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदिप मिश्र, केशव निरौला, डा सिता पोखरेल, बाला अधिकारी, श्रमिकतर्फ खिलानाथ दाहाल, योगेन्द्र कुमार कुवँर र सितादेवी काफ्ले निर्वाचित बने।
काठमाडौं उपत्यकाबाट मोहनबहादुर बस्नेत र डा अमिता प्रधान शाक्य, प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारु, सहिद परिवारबाट बालकृष्ण दाहाल र द्वन्द्व प्रभावित परिवारबाट जनार्दन अर्याल केन्द्रीय सदस्यमा निर्वाचित बने।