बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ ।
‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ । आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक छन् । ती सबै ब्लकमा गणना गरिनेछ । आरक्ष कार्यालयका अनुसार यसअघि कोरोनाका कारण नियमित पाँच वर्षमा हुनुपर्ने गणना एक वर्ष ढिलागरी विसं २०७९ मा गरिएको थियो । त्यसबेला एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए ।
गणनामा देखिएको नाउर र झारलको सङ्ख्या, उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्दै आएको छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल बर्सेनि १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्मको सिकार कोटा निर्धारण हुने गरेको छ । पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको छ ।
“यसपटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ”, रेञ्जर सुवेदीले भने ।गणनाबाट वयस्क नाउर र झारलको सङ्ख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थासमेत यकीन गरिने उनले बताए । रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासीको सहभागितामा गणना गरिनेछ ।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज-मङ्सिर र फागुन-वैशाख गरी दुई याममा वैधानिक सिकार खुला गरिँदै आएको छ । विगतको जस्तै यसपटक पनि चालु आवको पहिलो सिकार याम सुरु भइसकेको छ । यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउनेक्रम सुरु भएको छ । अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायत मुलुकबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन् । ढोरपाटन वैधानिक सिकारका लागि विश्वमै परिचित गन्तव्य मानिँदै आएको छ । साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेका छन् । सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनमा महत्वपूर्ण स्रोतका रुपमा रहिआएको छ ।