म्याग्दी- म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिंगा तातोपानी कुण्ड पुनर्निर्माण भएको छ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति पुगेको थियो। मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियानमार्फत पन्छाएर पुनर्निर्माण गरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।
“सिंगाका विभिन्न टोल, युवा क्लब, आमा समूह र दाताको सहयोगमा १६ दिनमा कुण्डको पुनर्निर्माण गरेर बुधबारदेखि स्नानका लागि खुला गर्न लागेका छौै”, उनले भने, “स्थानीयवासी र संघसंस्था तथा श्रमदाताको सहयोगमा छिट्टै कुण्ड सञ्चालन गर्ने अवस्था आएको हो।”
तीन वटा पोखरीमध्ये बिरामीले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकका सञ्चालित सानो पोखरी बाढीले भत्काएको थियो। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्यांकी राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको थियो।
श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाइएको हो। असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्ययाम हो। वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन्। म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नान थिए।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ। असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो। रासस