काठमाडौं– एक महिलासँगको आपत्तिजनक अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार विवादमा तानिएका छन्। दलित अधिकारका लागि आवाज उठाउँदै राजनीतिमा चिनिएका खगेन्द्र आफैंले दलित महिलालाई गरिएको भनी बाहिर आएको आपत्तिजनक दमनले अहिले राजनीतिक क्षेत्र तातेको छ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेकी ती महिलालाई आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौच गरेको अडियो जनआस्थाले सार्वजनिक गरेपछि सत्तारुढ दल रास्वपाले सार्वजनिक कार्यक्रममा जान सुनारलाई रोक लगाएको छ। ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ मंगलबार रास्वपाका महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रास्वपाले यस विषयको सत्यतथ्य छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जनाएको छ।
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने लाइनका नेताहरु सुनारले तत्काल सांसद पदबाट राजीनामा दिनुपर्ने बताउँछन्। तर संसदीय दलको लाइन भने तत्काल राजीनामा दिनुभन्दा छानबिनको निष्कर्षपछिमात्र कारबाहीको कुरा गर्नुपर्ने धारणा राख्छन्। रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले राज्यले छानबिन गरे पार्टीको सहयोग रहने बताए। ‘राज्यको संयन्त्रले गर्नुपर्ने आवश्यक अनुसन्धान गरियोस्। त्यसमा पार्टीको तर्फबाट सहयोग हुन्छ। राज्यले गर्ने एउटा पाटो कुरा भयो। पार्टीको नेता भएको कारणले गर्दा पार्टीले गर्ने पाटोमा अनुसन्धान सुरु गरिसकेको छ,’ बुर्लाकोटीले भने।
रास्वपाले यो अनुसन्धान चाँडै टुंग्याउने उनी बताउँछन्। ‘यो लामो समय जाँदैन। जे छानबिन हुनुपर्ने हो हुन्छ। सही छ, गलत छ या केही समस्या छ छैन या बाहिर अफवाहमात्रै हो या त्यो अडियो नक्कली हो या के हो। सत्यतथ्य आएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ,’ बुर्लाकोटीले भने।
सांसद सुनारले भने यो अडियो नक्कली भएको दाबी गरेका छन्। यो अडियोमा आफ्नो कुनै संलग्नता नरहेको सुनारले बताएका छन्। ‘अहिले सामाजिक सञ्जालमा जे अडियो आएको छ। त्यसमा मेरो कुनै संलग्नता छैन। यसकै हो भनेर क्यारिकेचर गर्न लगाएर एआईको प्रयोग गरेर मेरै हो भनेर फसाउने प्रपञ्च गरिएको छ,’ सुनारले भिडियो सन्देश जारी गर्दै भनेका छन्।
प्रहरीभित्रको भ्रष्टाचारविरूद्ध प्रश्न गरेदेखि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको दुःखेसो छ। ‘विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ, आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झूटा हुन्,’ सुनारले भनेका छन्, ‘यी सबै कुराको जवाफ दिन जनताको कठघरामा म उभिन तयार छु।’
रास्वपा केन्द्रीय सदस्यसमेत रहेका उनी बाँके–३ बाट गत फागुन २१ गते निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। विवादमा तानिएसँगै सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट काठमाडौं फर्किएका छन्।
रास्वपाले आगामी निर्वाचन लक्षित सर्वेक्षणका लागि सुनारसहित सांसदहरू नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार बेलुकी तुलसीपुर आइपुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण सकेको थियो।
कार्यतालिका अनुसार मंगलबार घोराहीलगायतका क्षेत्रमा छलफल तय भए पनि सांसद सुनारविना नै अन्य दुई सांसदले बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रम अघि बढाएका छन्। रास्वपा दाङका सभापति किरण खनालले बिहान ९ बजे नै सांसद सुनारलाई बिदाइ गरिएको र अन्य कार्यक्रम भने यथावत् रहेको जानकारी दिए।
अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी
०००
राज्यको संयन्त्रले गर्नुपर्ने आवश्यक अनुसन्धान गरियोस्। त्यसमा पार्टीको तर्फबाट सहयोग हुन्छ। राज्यले गर्ने एउटा पाटो कुरा भयो। पार्टीको नेता भएको कारणले गर्दा पार्टीले गर्ने पाटोमा अनुसन्धान सुरु गरिसकेको छ।
कविन्द्र बुर्लाकोटी
प्रमुख सचेतक, रास्वपा संसदीय दल
०००
सामाजिक सञ्जालमा जे अडियो आएको छ। त्यसमा मेरो कुनै संलग्नता छैन। यसकै हो भनेर क्यारिकेचर गर्न लगाएर एआईको प्रयोग गरेर मेरै हो भनेर फसाउने प्रपञ्च गरिएको छ।
खगेन्द्र सुनार
प्रतिनिधिसभा सदस्य
०००
प्रहरी सरकारको निर्देशन कुर्दै
सांसद सुनारमाथि अनुसन्धान गर्न प्रहरी सरकारको निर्देशन कुरेर बसेको छ। गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको भन्दै प्रहरी फौजदारी कसूर आकर्षित हुने मुद्दामा मौनता साँधेर बसेको हो।
खगेन्द्रले केही समययता प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै आएका छन्। जसले गर्दा प्रहरी सुन्नै नसकिने खालको अडियो बाहिर आउँदा पनि खगेन्द्रमाथि अनुसन्धानका लागि तयार छैन। प्रहरी यतिखेर तालुकवाला गृह मन्त्रालयको निर्देशन कुरेर बसेको छ।
‘गृह मन्त्रालयबाट केही निर्देशन आयो भने हामी अनुसन्धान थाल्छौं,’ एक उच्च प्रहरी अधिकृतले भने।
सुनारमाथि यसअघि पनि तीनवटा मुद्दा
राजनीतिमा आउनुअघि पत्रकारितामा सक्रिय खगेन्द्रको विगत विवादित देखिन्छ। दैलेख नारायण नगरपालिका वडा नम्बर–२ स्थित भैसेखोर घर भएका सुनार यसअघि तीनवटा फौजदारी मुद्दामा संलग्न रहेको प्रहरीको ‘सिआरएस रेकर्ड’मा देखिन्छ।
२०८१ असार ७ मा सुनारले सुर्खेतस्थित मेहेलकुना अस्पतालमा तोडफोड गरेर स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए। प्रहरीले अनुसन्धान गरेर अदालतमा पेस गरेको मुद्दा अहिले विचाराधीन छ। २०८१ असार १४ मा दायर भएको मुद्दामा अदालतले खगेन्द्रलाई ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनू’ भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो। सुनार अदालतमा हाजिर भए, तर मुद्दा टुंगिएको छैन।
सुर्खेत प्रहरीले २०८० असार ३ मा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो। त्यसबेला उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।
सांसद सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी कसुरको मुद्दा पनि विचाराधीन छ। मनिषा गौतमले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई मुद्दा चलाएको थियो। काभ्रे जिल्ला अदालतबाट जारी भएको सात दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन २०८२ साउन ५ मा अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो। २०८२ कात्तिक १३ मा सुनार्रले काभ्रे जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका थिए।
थुनछेक बहसपछि न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गरेको थियो। त्यसबेला पनि खगेन्द्रले पीडित महिलालाई फेसबुक लाइभमा आपमानजनक र आपत्तिजनक भाषा प्रयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। उनीविरुद्धको तीन वटै मुद्दाको अन्तिम फैसला भइसकेको छैन।