रसुवा- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्रास्ट्रिय समुदायसँग अपिल गरेका छन्।
रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न मंगलबार रसुवाको स्याफ्रुबेँसी पुगेका उनले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री दाहालले स्याफ्रुबेँसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गरे। उनले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःखसमेत व्यक्त गरे।
संयोजक दाहाल जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भए। उनले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताए। आफूले संसद् र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याफ्रुबेँसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उनले बताए।
खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उनले धन्यवाद दिए। दाहालले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पस्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गरे।