सिरहा - सिरहा प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको सुखीपुर–नरकट्टी गाउँपालिका क्षेत्रमा लागूऔषध गाँजा बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त पदार्थ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८३ असोज १२ गते राति करिब ११ बजे सिरहाको सुखीपुर नगरपालिका–५, कल्याणपुरस्थित एक घरमा प्रहरीले खानतलासी गरेको थियो।
इलाका प्रहरी कार्यालय लहान, सिरहा र इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४३ वर्षीय जगदीश यादवको घरमा रीतपूर्वक खानतलासी गरेको थियो। सो क्रममा घरभित्र सेतो बोरामा प्लास्टिकले बेरिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पदार्थको तौल गर्दा बोरा बाहेक १० किलोग्राम र बोरासहित कुल ११ किलोग्राम रहेको पाइएको छ। बरामद पदार्थसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थको परीक्षण तथा अनुसन्धानबाट लागूऔषधको वास्तविक प्रकृति पुष्टि हुन बाँकी छ।