सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा तामाङ भाषा शिक्षासम्बन्धी तीन दिने प्रादेशिक सम्मेलन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय र नेपाल तामाङ घेदुङद्वारा संयुक्तरुपमा आयोजित सम्मेलनको सोमबार बागमती प्रदेशका विनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङले उद्घाटन गरे।
तामाङ भाषाको संरक्षण गर्न मातृभाषा शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन बुधबार (असोज २८) सम्म चल्नेछ। सम्मेलनको पहिलो दिन मातृभाषाको शैक्षिक विकास, पुस्तान्तरण, संस्थागत विस्तार र सूचना प्रविधिको प्रयोगबारे छलफल गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले काठमाडौं विश्वविद्यालयमा तामाङ भाषा अध्ययन सुरु भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले भाषाको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। मातृभाषाको प्रयोग र सम्मान व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाभित्र रहेका १७ गुम्बासहित स्थानीय तहले तामाङ भाषा, संस्कृति र परम्परा संरक्षणमा भूमिका खेल्ने बताए। उनले सम्मेलन व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ विश्वविद्यालयका प्रा. डा. टीकाराम पौडेलले विदेशी भाषाको अध्ययनसँगै मातृभाषा ओझेलमा पर्न नदिन आफ्नै भाषाको अध्ययन, अनुसन्धान र प्रवर्द्धन आवश्यक रहेको बताए। विश्वविद्यालयले यही उद्देश्यले तामाङ भाषा अध्ययन सुरु गरेको उनको भनाइ थियो।
उनका अनुसार पहिलो सत्रका विद्यार्थी उत्तीर्ण भइसकेका छन्। दोस्रो सत्रको अध्ययन प्रभावकारी बनाउनु, अनुभव आदानप्रदान र छलफललाई प्रोत्साहन गर्नु सम्मेलनको उद्देश्य हो। उनले कोशी प्रदेशमा लिम्बू तथा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाको अध्ययन–अध्यापन भइरहेको जानकारी दिए।

घेदुङका पूर्वमहासचिव सोम घले तामाङले काठमाडौं विश्वविद्यालयमा तामाङ भाषा अध्ययन सुरु हुनुलाई तामाङ समुदायको लामो भाषिक आन्दोलनको उपलब्धि भएको बताए। मातृभाषालाई शैक्षिक क्षेत्रमा स्थापित गर्न सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको उनले बताए।
काठमाडौँ विश्वविद्यालय इञ्जिनियरिङ स्कुलका डिन बलले तामाङ भाषाको संरक्षण तथा प्रवर्द्धनमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। भाषाका शब्दहरू कम्प्युटर प्रणालीमा समावेश गर्ने काम भइरहेको उल्लेख गर्दै उनले प्रविधिबाट अभिलेखीकरण, अध्ययन, अनुसन्धान र विश्वव्यापी पहुँच विस्तार गर्न सकिने धारणा राखे।

मानवशास्त्री डा. मुक्तसिं लामाले तामाङ भाषाको संरक्षण र पुस्तान्तरणका लागि विश्वविद्यालय तहमा सुरु भएको अध्ययन महत्त्वपूर्ण हुने बताए।
घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानले मातृभाषाको संरक्षण, विकास र शैक्षिक विस्तारका लागि सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा घेदुङका पदाधिकारीहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, काठमाडौं विश्वविद्यालयका विभागीय प्रमुख तथा तामाङ भाषा अध्ययनरत विद्यार्थीलगायत सहभागी रहेको आयोजकले जानकारी दिएको छ।