धनुषा - सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी देखाउँदै सर्वसाधारणमा त्रास फैलाउने आशयको तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–१३, धाताटोल निवासी १८ वर्षीय सुमन पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पटेलले सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी देखाउँदै खिचिएको तस्बिर अपलोड गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त तस्बिरले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने, सर्वसाधारणमा त्रास फैलाउन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न गर्न सक्ने देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पटेललाई असोज २५ गते साँझ करिब ५:३० बजे नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीको अपिल...
जिल्ला प्रहरी कार्यालय धनुषाले सामाजिक सञ्जालमा हिंसा, त्रास तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्ने सामग्री पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न र शान्ति सुरक्षामा असर पार्ने गतिविधिबाट टाढा रहन प्रहरीले अनुरोध गरेको छ।