काठमाडौं– नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले बिहान १० बजेदेखि मतदानको समय तोकेको छ।
नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा विभिन्न पदका लागि ८०० जना उम्मेदवारको मनोनयन परेको छ। १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार पदाधिकारीमामात्र ७१ जनाको उम्मेदवारी परेको छ।
कूल २० पदाधिकारीमध्ये वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। यसैगरी महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनायो। उपत्यकाको तर्फबाट केन्द्रीय सदस्य पदमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्। केन्द्रीय सदस्यका लागि उपत्यका क्षेत्रबाट उम्मेदवारी दिएकी यमुनादेवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
एक सहभापति पदमा गगन थापाकोमात्र उम्मेदवारी पर्ने बताइएको थियो। तर किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराए। गगनले विश्वस्त तुलाएपछि किशोरसिंहले उम्मेदवारी फिर्ता लिए तर खड्गीले उम्मेद्वारी फिर्ता नलिँदा गगन निर्विरोध निर्वाचित हुने बाटो बन्द भयो।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरू, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिहरू र प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र
उपसभापतिका दुई उम्मेदवार देवराज चालिसे र डा. मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन्। तीन महामन्त्रीसहित २० जना पदाधिकारीको निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी खुला सहमहामन्त्रीमा नौ जनाको परेको छ। पिछडिएको क्षेत्रबाट सहममन्त्रीमा मनोनयन दर्ता गरेका मिन भाम र दलित क्लस्टरको सहमहामन्त्री पदमा उम्मेदवार बनेकी लक्ष्मी परियारले उम्मेदवारी फिर्ता लिएका छन।
कूल २९७ सदस्यीय कार्यसमितिका चार जना सहमहामन्त्री र ६६ जना केन्द्रीय सदस्य मनोनीत हुने छन्। बाँकी २२७ पदका लागि हुन लागेको निर्वाचनमा विभिन्न क्लस्टरमा केन्द्रीय सदस्यमामात्र ७२९ जनाको उम्मेदवारी परेको छ। अन्तिम मतदाता नामावलीअनुसार केही क्लस्टर केन्द्रीय सदस्यमा उम्मेदवार घटेका छन् भने केहीमा बढेका छन्।
तीन स्थान, सात मतदान केन्द्र
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलागरी सुरू गर्न लागिएको जानकारी दिए। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको हो। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने छन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने छ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
देउवा नआउँदा मिठो लागेको छैनः गगन
कांग्रेस सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा नआउँदा दुःख लागेको बताएका छन्। ‘म यहाँ नआउनुभएका नेताहरूलाई पनि आग्रह गर्न चाहन्छु, महाधिवेशनको मञ्चबाट आग्रह छ, यो पार्टी तपाईं हामी सबै मिलेर बनाएको हो। पार्टीका निवर्तमान सभापति श्रद्धेय शेरबहादुर देउवाले आफ्नो जीवनकालमा यति लामो संघर्ष गर्नुभएको छ। यो पार्टी निर्माणमा यति ठूलो योगदान छ। त्यसैले हामीलाई मिठो लागेको छैन। पार्टीमा लामो समय योगदान दिएका नेताहरू पनि यहाँ भइदिएको भए भन्ने लागेको छ, भोलिको दिनमा हामी उहाँहरूलाई सँगै लिएर जान चाहन्छौं,’ थापाले भने।

थापाले पार्टी विधानतः अघि बढिसकेकोले अब सर्वोच्च अदालतको आश गरेर नबस्न देउवालाई आग्रहसमेत गरे। देउवा समूह आधिकारिकताको दाबी गर्दै सर्वोच्चको आदेशको पर्खाइमा रहेको विषयमा थापाले यस्तो बताएका हुन्। ‘हिजो पनि सर्वोच्च अदालतले कांग्रेसको वैधानिकताका बारेमा संवैधानिक इजलासमा बहस गर्नुपर्छ भन्ने अर्को निवेदनलाई फेरि दरपीठ गरिदियो। पार्टीकै विधानको व्यवस्था अनुसारले विशेष महाधिवेशन गर्यौं,’ उनले थपे, ‘अब तल कोही पनि अलमलिने होइन। अब पार्टीको रेल अगाडि बढ्यो। अब सरासर जाने, पार्टीको काम गर्ने हो।’
थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणासमेत छन्। बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।
सबै प्रतिवेदन पारित
महाधिवेशनअन्तर्गत बन्दसत्रमा सभापति थापा, उपसभापति शर्मा र महामन्त्री घिमिरेले प्रस्तुत गरेका प्रतिवेदन पारित भएको छ। शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्नेगरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे। ‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौं, यो पनि ऐतिहासिक हो,’ शर्माले भने। उपसभापति शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए।
बन्दसत्रबाट सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, अर्का महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदन पारित
महाधिवेशनको चौथो दिन खुलामञ्चमा आयोजित बन्दसत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ। प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ।
बन्दसत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ। बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। छलफलपछि उक्त प्रतिवेदन बन्दसत्रले पारित गरेको हो।