पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने कोप-३१ मा ऊर्जा रूपान्तरण, जलवायु वित्त र बढ्दो जलवायु संकट प्रमुख विषय बन्ने भएका छन्।
यसपटक टर्कीले सम्मेलन आयोजना गर्दै छ भने अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्ने छ। जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा ‘विद्युतीकरण’ लाई विशेष प्राथमिकता दिइएको छ। सन् २०३५ सम्म अन्तिम ऊर्जा मागमा विद्युत्को हिस्सा २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याउने स्वैच्छिक लक्ष्यमा राष्ट्रहरूलाई प्रतिबद्ध गराउने प्रयास हुने छ।
जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा हटाउने विषयमा भने विश्वव्यापी सहमति हुन सकेको छैन। गत वर्षको कोपमा सहमति जुट्न नसकेपछि ब्राजिलले कोइला, तेल र ग्यासबाट टाढा जान मार्गदर्शन गर्ने स्वैच्छिक ‘रोडम्याप’ जारी गर्ने अपेक्षा गरिएको छ। यस वर्ष करिब ६० राष्ट्रले जीवाश्म इन्धनविरुद्ध छिटो कदम चाल्न माग गर्दै छुट्टै सम्मेलनसमेत आयोजना गरेका छन्।
विद्युतीकरणअन्तर्गत डिजेलबाट चल्ने सवारीसाधन र ग्यासबाट हुने ताप प्रणालीको स्थानमा विद्युतीय विकल्प प्रयोग गर्ने अवधारणा अघि सारिएको छ। तर विश्वको करिब एकतिहाइ विद्युत् अझै कोइलाबाट उत्पादन हुने भएकाले थप विद्युत् कसरी उत्पादन गर्ने भन्ने प्रश्न पनि उठेको छ।
टर्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मिथेन, फोहोर व्यवस्थापन र जलवायु अनुकूल सहर निर्माणलगायत विषयमा गैरबाध्यकारी पहल अघि बढाउने भएको छ। औपचारिक वार्तामा भने अघिल्ला सम्मेलनबाट बाँकी प्राविधिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
जलवायुजन्य विपद्पछि गरिब राष्ट्रहरूले नवीकरणीय ऊर्जातर्फ रूपान्तरण, जलवायु अनुकूलन र विपद्पछिको पुनःस्थापनाका लागि धनी राष्ट्रबाट थप आर्थिक सहयोग माग्दै आएका छन्। कोप-३१ का अध्यक्ष मुरात कुरुमले जलवायु वित्तको ‘खाडल’ पुर्नु अन्ताल्याको प्रमुख प्राथमिकता हुने बताएका छन्।
यसैबीच, सन् २०२८ मा हुने कोप-३३ मा जलवायु कार्यको प्रगतिको ‘ग्लोबल स्टकटेक’ गरिने छ। भारतले उम्मेदवारी फिर्ता लिएपछि आयोजक देश अझै तय भएको छैन। संयुक्त राज्य अमेरिका जलवायु विषयमा अनुपस्थित रहेका बेला चीनले कोप-३३ आयोजना गर्नेबारे विचार गरिरहेको बताइएको छ। रासस/एएफपी