एएफपी-यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ। यसले विश्वभर खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्ने संयुक्त राष्ट्रसंघका निकाय र मौसमविद्हरूले चेतावनी दिएका छन्।
मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने एल निनोका कारण विश्वव्यापी वर्षा, हावा र तापक्रमको ढाँचामा परिवर्तन आउँछ। यस वर्षको एल निनो डिसेम्बरमा उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ। यसको प्रभाव सन् २०२७ सम्म पनि कायम रहन सक्ने बताइएको छ।
ब्राजिलको पारा राज्यमा नोभेम्बरको सुरुदेखि पाँच हजारभन्दा बढी डढेलोका घटना भएका छन्। गम्भीर खडेरी र आगलागीका कारण राज्यले आपत्काल घोषणा गरेको छ। आगलागी नियन्त्रण गर्न अमेजन क्षेत्रमा वनस्पति तथा जमिन सफा गर्न आगो लगाउन प्रतिबन्धसमेत लगाइएको छ। यसअघि पेरुले पनि एल निनोसम्बन्धी बाढी र पहिरोको जोखिमका कारण आपत्काल घोषणा गरेको थियो।
पश्चिम अफ्रिकाको प्रमुख कोको उत्पादक आइभोरी कोस्टमा यस वर्ष उत्पादन २१ देखि २५ प्रतिशतसम्म घट्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन्। वर्षामा १० देखि २७ प्रतिशतसम्म कमी र लामो सुक्खा मौसमका कारण कोकोका फल समयअगावै सुक्ने तथा रूखका पात झर्ने जोखिम छ। यसले किसानको आम्दानी र मुलुकको निर्यात राजस्वमा असर पार्नेछ।
यसैगरी, इन्डोनेसियामा यस वर्ष लागेको डढेलोमा एल निनोको प्रमुख भूमिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जुलाईदेखि अक्टोबरसम्म दक्षिणपूर्वी एसियामा भएको वर्षाको कमीका लागि एल निनो जिम्मेवार रहेको र जलवायु परिवर्तनले यस्तो अवस्था सिर्जना हुने सम्भावना तथा तीव्रता झन्डै तीन गुणा बढाएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। वन विनाश, दलदली जमिनको दोहन र खानी गतिविधिले पनि आगलागी बढाएको बताइएको छ। सन् २०२६ मा इन्डोनेसियामा हालसम्म करिब २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको नुसानतारा एटलसले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूका अनुसार एल निनोको प्रभाव न्यूनीकरण गर्न अहिले नै कदम चाल्दा करिब ३६ अर्ब अमेरिकी डलर खर्च हुनेछ। ढिलाइ गरेमा यो लागत बढेर ७३ अर्ब डलर पुग्न सक्छ। उनले समयमै काम नगर्नु जलवायु नीतिको सबैभन्दा महँगो विकल्प हुने बताएका छन्।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एल निनोका कारण खडेरी र बाढीबाट खाद्य असुरक्षा थप बढ्ने चेतावनी दिएको छ। जोखिममा रहेका २२ मुलुकमध्ये आधाभन्दा बढी अफ्रिकामा छन् भने अन्य एसिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका छन्।
एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले द्वन्द्व, आर्थिक संकट, उच्च ऋण र कृषि सामग्रीको अभाव झेलिरहेका मुलुकमा एल निनोले खाद्य प्रणाली थप कमजोर बनाउने बताएका छन्। उनले खाद्यान्न उत्पादन मात्र नभई सर्वसाधारणको खाद्यान्नमा पहुँचसमेत प्रभावित हुन सक्ने भएकाले बाली, पशुधन र जलस्रोतको संरक्षणका लागि समयमै तयारी गर्नुपर्नेमा जोड दिएका छन्।