काठमाडौँ - अमेरिकामा दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण सबै उडानहरू रोकिएपछि लगाइएको राष्ट्रव्यापी उडान प्रतिबन्ध (ग्राउन्ड स्टप) हटाइएको छ ।
शुक्रबार राति करिब २१:०० जीएमटी बजे सुरु भएको उक्त प्रतिबन्ध करिब चार घण्टासम्म कायम रहेपछि सुचारु गरिएको हो ।
सन् २००१ को '९/११' आक्रमणपछिको अवस्थालाई हेर्दा अमेरिकामा भएको यो सबैभन्दा लामो हवाई उडान अवरोध हो । उडान प्रतिबन्ध हटे पनि यसको असर अझै केही दिनसम्म रहन सक्ने अमेरिकी यातायात मन्त्री शन डफीले अनुमान गरेका छन् ।
उडान अवरोधका कारण शनिबार बिहान बेलायतबाट अमेरिका आउने केही उडानहरू ढिलो भएका छन् भने केही रद्द गरिएका छन् । सम्बन्धित निकायले यात्रुहरूलाई आगामी दिनमा पनि थप समस्या आउन सक्ने भन्दै सचेत रहन चेतावनी दिएको छ ।
अधिकारीहरूका अनुसार दूरसञ्चार प्रणालीमा आएको समस्या (टेलिकम्युनिकेसन्स आउटेज) का कारण उडानहरू प्रभावित भएका हुन् । यद्यपि, यो कुनै साइबर आक्रमण भएको प्रमाण नभेटिएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।
उनीहरूले यस समस्याका लागि पुराना प्रविधि तथा प्रणालीहरूलाई जिम्मेवार ठहराएका छन् । प्रणालीमा पूर्ण रूपमा व्यापक सुधार नगरिएमा भविष्यमा पनि यस्ता समस्या दोहोरिन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।