एएफपी- एल निनो मौसम प्रणालीका कारण दक्षिण प्रशान्त क्षेत्रमा खडेरी गम्भीर बन्दै गएपछि फिजी र टोंगाले संकट घोषणा गरेका छन्। लामो समयदेखि वर्षा नहुँदा खानेपानी, कृषि तथा पशुपालन प्रभावित भएपछि दुवै देशले आपत्कालीन कदम चालेका हुन्।
एल निनोका कारण प्रशान्त महासागरका केही भागमा समुद्री सतहको तापक्रम बढ्ने र त्यसले हावा, तापक्रम तथा वर्षाको नियमित चक्रमा परिवर्तन ल्याउने गर्छ। यस क्षेत्रमा देखिएको खडेरी पनि यही मौसमी प्रणालीसँग जोडिएको छ। यसले सामान्यतः हरियाली रहने उष्णकटिबन्धीय टापुहरूमा समेत पानीको अभाव सिर्जना गरेको छ। विज्ञहरूले अहिलेको एल निनो रेकर्डकै शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिएका छन्।
फिजी सरकारले खडेरी संकट गम्भीर बनेपछि देशव्यापी विपद् घोषणा गरेको छ। प्रधानमन्त्री सिटिभेनी राबुकाले पानीको उपलब्धता, किसानका बाली तथा पशुधनको अवस्थालाई लिएर सर्वसाधारणमा चिन्ता बढेको बताएका छन्।
आपत्कालीन व्यवस्थाअन्तर्गत सरकारले पानीको वितरणमा सीमा तोक्ने, प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा विपद् राहतका लागि सार्वजनिक कोष पुनः विनियोजन गर्न सक्नेछ। स्थानीय सञ्चारमाध्यमका अनुसार देशका अधिकांश जलस्रोतको सतह घटेको छ भने पानी अभाव भएका गाउँमा ट्यांकरमार्फत पानी पुर्याउन थालिएको छ।
प्रधानमन्त्री राबुकाले जलवायु परिवर्तनलाई तत्काल नियन्त्रण गर्न नसकिए पनि उपलब्ध स्रोतको जिम्मेवार उपयोग र सामूहिक प्रयासबाट यसको प्रभाव न्यूनीकरण गर्न सकिने बताएका छन्।
यसैगरी, लामो समयको खडेरीका कारण देशभर पानीको अभाव भएपछि टोंगाले २७ दिने आपत्काल घोषणा गरेको छ। कार्यवाहक प्रधानमन्त्री भिलियामी लाटूले यस घोषणाले आपत्कालीन सेवाको समन्वय र खडेरी प्रभावितलाई राहत उपलब्ध गराउन सहज हुने बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्ला प्रतिवेदनहरूले खडेरीका कारण सर्वसाधारण, जलस्रोत, कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर असर परेको देखाएका छन्। यसले टोंगाभरिका नागरिकको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।