स्टकहोम- मानवताका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा संघर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष छन्। यस वर्षका पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म हुने छ।
नोबेल शान्ति पुरस्कारका पाँच विजेता पुरस्कार समारोहमा सहभागी हुन पाएका छैनन्। सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा थिए भने आङ सान सुकी सन् १९९१ मा नजरबन्दमा थिइन्।
सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहँदा उनका लागि पुरस्कार राखिएको कुर्सी खाली राखिएको थियो। सन् २०२२ मा एलेस बियालियात्स्की जेलमा थिए र उनको प्रतिनिधित्व पत्नी नतालिया पिन्चुकले गरेकी थिइन्। सन् २०२३ मा नर्गिस मोहम्मदी पनि जेलमै थिए।
उमेरका हिसाबले पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाई १७ वर्षमा नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बनेकी थिइन्। अर्कोतर्फ अमेरिकी वैज्ञानिक जोन गुडएनफले ९७ वर्षको उमेरमा सन् २०१९ मा रसायनशास्त्रतर्फ पुरस्कार पाएका थिए। उनी सबैभन्दा वृद्ध नोबेल विजेता हुन्।
सन् १९७४ देखि सामान्यतः मरणोपरान्त नोबेल पुरस्कार दिन रोकिएको छ। त्यसअघि डाग ह्यामरशोल्ड र एरिक एक्सेल कार्लफेल्टले मरणोपरान्त पुरस्कार पाएका थिए। सन् २०११ मा राल्फ स्टाइनम्यानलाई पुरस्कारका लागि चयन गरिएको तीन दिनअघि उनको निधन भएको जानकारी नभए पनि फाउन्डेसनले उनलाई पुरस्कार प्रदान गरेको थियो।
सन् १९०१ यता प्रदान गरिएका ६३३ नोबेल पुरस्कारमध्ये ६८ वटामात्र महिलाले पाएका छन्। विज्ञानतर्फ प्रतिनिधित्व अझ न्यून छ। मेरी क्युरी सन् १९०३ मा नोबेल पुरस्कार पाउने पहिलो महिला बनेकी थिइन् र उनी आजसम्म दुई नोबेल पुरस्कार पाउने एक्ली महिला हुन्।
नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध भए पनि उनी अंग्रेजी कविताका प्रशंसक तथा स्वयं कवि थिए। पर्सी बिसी शेली र लर्ड बायरनबाट प्रभावित उनले जीवनभर कविता लेखे। जीवनको अन्तिम वर्ष सन् १८९६ मा उनले शेलीको ‘द सेन्सी’ बाट प्रेरित ‘नेमेसिस’ नामक चार अंकको त्रासदीसमेत लेखेका थिए। रासस/एएफपी