बिहानको झिसमिसेमा नेपालको कुनै गाउँ सम्झौं। एउटा पुरानो घरको आँगनमा वृद्ध बुबा चुपचाप बसिरहेका छन्। भान्सामा आमा उठिसकेकी छन्। चुलोमा आगो बलिरहेको छ। घरभित्र सबै कुरा छ, तर घरमा एउटा कुरा छैन– छोराछोरीको आवाज।
कुनै समय यही घर बिहानैदेखि हाँसोले भरिन्थ्यो। कसैले आमासँग चिया माग्थ्यो, कसैले विद्यालय जान हतार गथ्र्यो, कसैले किताब खोज्थ्यो, कसैले बुबाको गाली खान्थ्यो। आज ती आवाजहरू सम्झनामामात्र छन्। छोराको कोठा अझै उस्तै छ। दराजमा पुराना कपडा छन्। टेबलमा पुराना किताब छन्। भित्तामा बाल्यकालको फोटो छ। तर छोरा छैन। ऊ हजारौं किलोमिटर टाढा छ।
घरमा पैसा आउँछ, मोबाइलमा फोन आउँछ, भिडियो कल आउँछ, तर छोरा आफैं आउँदैन। आमा कहिलेकाहीँ छोराको कोठामा पस्छिन्, ओछ्यान मिलाउँछिन्, सिरानी छाम्छिन् र केही क्षण मौन बस्छिन्। उनलाई थाहा छ– छोरा विदेशमा छ। तर आमाको मनले दूरी बुझ्दैन। आमाको मनले केवल एउटा कुरा बुझ्छ– ‘मेरो छोरा घरमा छैन।’
यो एउटा घरको कथामात्र होइन। यो आजको नेपालको सामाजिक यथार्थ बन्दै गएको कथा हो। गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म, हजारौं घरका आँगनमा यस्तै प्रतीक्षा छ। कसैका छोरा वैदेशिक रोजगारीमा छन्, कसैकी छोरी उच्च शिक्षाका लागि विदेशमा छिन्, कसैको सन्तान पढ्न गएको थियो तर उतै काम गरेर बस्यो। घरमा पैसा आउँछ तर परिवारको सदस्य आउँदैन। बैंक खातामा रकम बढ्छ, तर आमाबुबाको काख खाली हुन्छ। नयाँ घर बन्छ, तर घरको एउटा कोठा सधैँ अधुरो रहन्छ।
हामीले रेमिट्यान्सको हिसाब राखेका छौं, तर अनुपस्थित सन्तानका कारण खाली भएका घरहरूको हिसाब राखेका छैनौं। हामीले विदेशी मुद्रा सञ्चितिको चर्चा गरेका छौं तर वृद्ध आमाबुबाको एक्लोपनको आर्थिक र सामाजिक मूल्यबारे पर्याप्त चर्चा गरेका छैनौं। कुनै समय नेपाली अभिभावकको सबैभन्दा ठूलो सपना छोराछोरीलाई राम्रो शिक्षा दिएर आफ्नै देशमा स्थापित गर्नु थियो। छोरा वा छोरीले राम्रो जागिर खाओस्, व्यवसाय गरोस्, आफ्नै घर बनाओस् र बुढेसकालमा आमाबुबाको सहारा बनोस् भन्ने चाहना हुन्थ्यो तर आज धेरै परिवारको सपना फेरिएको छ। विदेशको भिसा लाग्नु उपलब्धि भएको छ।
विमानस्थलमा विदेश जाने युवाको दृश्य हेर्दा यो पीडा अझ स्पष्ट हुन्छ। हातमा पासपोर्ट, काँधमा झोला, आँखामा सपना र पछाडि आँसु लुकाइरहेका आमाबुबा। आमाले छोराको झोलामा अन्तिमपटक केही खोज्छिन्। ‘औषधि राख्यौ?’, ‘पैसा पुग्छ?’, ‘समयमा खाना खानू’– उनी निरन्तर प्रश्न गर्छिन्। वास्तवमा उनी यी प्रश्न सोधिरहेकी हुँदिनन्; उनी छोरासँग केही मिनेट अझ बढी कुरा गर्न चाहिरहेकी हुन्छिन्। उनले भन्न चाहेको मुख्य कुरा हुन्छ– ‘छोरा, मलाई छोडेर नजाऊ।’
विदेशको विश्वविद्यालयमा प्रवेश पाउनु प्रतिष्ठाको विषय भएको छ। छोरा अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा वा युरोप गएको खबर परिवारले गर्वका साथ सुनाउँछ। आफन्तहरू बधाइ दिन्छन्। मिठाइ बाँडिन्छ। सामाजिक सञ्जालमा फोटो राखिन्छ तर त्यही परिवारको अर्को छोरा नेपालमै बसेर उद्योग, कृषि, प्रविधि, अनुसन्धान वा व्यवसाय गरिरहेको छ भने प्रश्न उठ्छ– ‘विदेश जाने विचार छैन?’
यो सामान्य प्रश्नजस्तो देखिए पनि यसको पछाडि एउटा गम्भीर सामाजिक मनोविज्ञान छ। हामीले विस्तारै यस्तो धारणा बनाएका छौं कि विदेश जानु सफलता हो र नेपालमै बस्नु विकल्पको अभाव हो। यही मानसिकता आजको समस्याको एउटा गहिरो जरा हो। विदेश जानु आफैंमा गलत होइन। संसार खुला छ।
युवाले नयाँ देश हेर्न, राम्रो शिक्षा लिन, सीप सिक्न र अन्तर्राष्ट्रिय अवसर खोज्न पाउनु स्वाभाविक हो। विदेशमा गएर मिहेनत गर्ने नेपाली युवाले आफ्नो परिवारमात्र होइन, देशको अर्थतन्त्रमा पनि योगदान गरेका छन्। रेमिट्यान्सले लाखौं परिवारको जीवनस्तर सुधारिएको छ। शिक्षा, स्वास्थ्य, आवास र दैनिक उपभोगमा यसको ठूलो भूमिका छ। तर प्रश्न विदेश जानु सही वा गलत भन्ने होइन। प्रश्न यो हो– विदेश जानु अवसर हो कि बाध्यता?
यदि एउटा युवा नेपालमा पनि सम्मानजनक रोजगारी, उचित पारिश्रमिक, निष्पक्ष अवसर र भविष्यको आशा देखेर आफ्नो निर्णय गर्नसक्छ भने विदेश यात्रा अवसर हुन्छ। तर यदि उसले ‘यहाँ मेरो भविष्य छैन’ भनेर पासपोर्ट निकाल्छ भने त्यो केवल व्यक्तिगत निर्णय होइन, राष्ट्रको गम्भीर संकेत हो। हामी प्रायः युवालाई दोष दिन्छौं।
‘आजकलका युवामा देशप्रेम छैन’, ‘सबैलाई विदेश जान हतार छ’, ‘नेपालमा काम गर्न कोही चाहँदैन’– यस्ता टिप्पणी सहजै सुनिन्छन् तर हामीले अर्को प्रश्न कमै सोध्छौं– युवाले नेपालमा भविष्य किन देख्न सकेन? वर्षौं पढेपछि पनि रोजगारीको निश्चितता नहुनु, आफ्नो योग्यताअनुसार पारिश्रमिक नपाउनु, व्यवसाय सुरु गर्न अनेकौं अवरोध सामना गर्नपर्नु, पुँजी र बजारको समस्या हुनु, नीतिगत अस्थिरता हुनु, योग्यताभन्दा पहुँच र चिनजानले अवसर पाउनु र भविष्यबारे विश्वास गर्न नसक्नुले युवाको मनमा निराशा जन्माउँछ। त्यसपछि उसले देश छोड्ने निर्णय गर्छ। त्यसैले युवा पलायनलाई केवल युवाको कमजोरीका रूपमा हेर्नु गलत हुने छ। यो हाम्रो शिक्षा, अर्थतन्त्र, राजनीति, प्रशासन र सामाजिक संरचनाको सामूहिक परीक्षाको परिणाम पनि हो।
विमानस्थलमा विदेश जाने युवाको दृश्य हेर्दा यो पीडा अझ स्पष्ट हुन्छ। हातमा पासपोर्ट, काँधमा झोला, आँखामा सपना र पछाडि आँसु लुकाइरहेका आमाबुबा। आमाले छोराको झोलामा अन्तिमपटक केही खोज्छिन्। ‘औषधि राख्यौ?’, ‘पैसा पुग्छ?’, ‘समयमा खाना खानू’– उनी निरन्तर प्रश्न गर्छिन्। वास्तवमा उनी यी प्रश्न सोधिरहेकी हुँदिनन्; उनी छोरासँग केही मिनेट अझ बढी कुरा गर्न चाहिरहेकी हुन्छिन्। उनले भन्न चाहेको मुख्य कुरा हुन्छ– ‘छोरा, मलाई छोडेर नजाऊ।’
तर त्यो वाक्य उनी बोल्न सक्दिनन्। किनकि उनलाई थाहा छ, छोराको भविष्य खोज्न उ जानैपर्छ। बुबा पनि बलियो बन्न खोज्छन्। उनी छोराको काँधमा हात राखेर भन्छन्– ‘मिहेनत गर्नू।’ तर मनभित्र भन्न चाहन्छन्– ‘पैसा कमाउनुभन्दा पहिले आफूलाई सुरक्षित राख्नू।’
छोरा विमानस्थलभित्र पस्छ। आमा बाहिर उभिरहन्छिन्। विमान उड्छ। आकाशमा त्यो बिन्दु हराउँदै जान्छ तर आमाको आँखा त्यही दिशामा अड्किरहन्छ। त्यो क्षणमा विमानले एउटा युवामात्र लिएर गएको हुँदैन; एउटा परिवारको दैनिक जीवनको एउटा हिस्सा पनि लिएर गएको हुन्छ।
त्यसपछि सुरु हुन्छ प्रतीक्षाको जीवन। फोनको घण्टी बज्दा आमा झसंग हुन्छिन्। मोबाइलमा विदेशी नम्बर देख्दा मुहार उज्यालिन्छ। ‘कस्तो छौं?’– पहिलो प्रश्न यही हुन्छ। ‘म ठीक छु’– छोराको उत्तर आउँछ। आमाले पनि भन्छिन्– ‘म पनि ठीक छु।’ तर उनीहरू दुवैलाई थाहा हुन्छ, उनीहरू पूर्णरूपमा ठीक छैनन्। आमालाई छोराको आवाज चाहिएको हुन्छ, छोरालाई आमाको काख तर दुईजनाबीच मोबाइलको स्क्रिन हुन्छ।
दसैं आउँछ। घरमा टीका तयार हुन्छ। जमरा राखिन्छ। बुबा नयाँ कपडा लगाउँछन्। आमाले छोरा सम्झेर खाना बनाउँछिन्। मोबाइलमा भिडियो कल हुन्छ। छोराको अनुहार स्क्रिनमा देखिन्छ। आमाले मुस्कुराउँदै टीका लगाउन खोज्छिन्। औंला मोबाइलको स्क्रिनमा पुग्छ तर त्यो स्क्रिन निधार बन्न सक्दैन। आमाको हातमा टीका हुन्छ तर छोरा अगाडि हुँदैन। केही मिनेटपछि फोन काटिन्छ। स्क्रिन कालो हुन्छ। आमा केही बेर मोबाइल हेरेर बसिरहन्छिन्। त्यसपछि चुपचाप छोराको कोठामा जान्छिन्। ओछ्यानमा बस्छिन्। सिरानी छाम्छिन्। अनि आँसु पुछ्दै भन्छिन्– ‘कहिले आउँछौं छोरा?’
युवा पलायनको सबैभन्दा गहिरो कारण बेरोजगारीमात्र होइन, आशाको अभाव हो। जब एउटा युवा मिहेनत गरेपछि पनि आफ्नो भविष्य बदल्न सक्छु भन्ने विश्वास गुमाउँछ, तब देशप्रतिको सम्बन्ध कमजोर हुँदै जान्छ। राष्ट्रले आफ्ना नागरिकलाई केवल पूर्वाधार होइन, आशा पनि दिनुपर्छ। सडक, पुल, विमानस्थल र भवन आवश्यक छन् तर तीभन्दा महत्त्वपूर्ण कुरा युवाको मनमा रहेको विश्वास हो।
रेमिट्यान्सले यो पीडा मेटाउँदैन। पैसा आवश्यक छ। पैसाविना परिवार चल्दैन। विदेशमा दुःख गरेर पठाएको पैसाले घर चल्छ, ऋण तिरिन्छ, शिक्षा हुन्छ, उपचार हुन्छ। त्यसैले वैदेशिक रोजगारीको योगदानलाई नकार्न मिल्दैन तर पैसाको एउटा सीमा हुन्छ। पैसाले घर बनाउन सक्छ, घरभित्रको हाँसो किन्न सक्दैन। पैसाले आमाको औषधि किन्न सक्छ, तर बिरामी हुँदा छोराको हात बन्न सक्दैन। पैसाले छोरीको पढाइ धान्न सक्छ, तर बाबुको काँधको स्थान लिन सक्दैन। पैसाले चाडपर्वको खर्च धान्न सक्छ तर दसैंमा आमाको हातबाट निधारमा लागेको टीकाको स्पर्श दिन सक्दैन। त्यसैले अब हामीले रेमिट्यान्सको हिसाबसँगै एउटा अर्को हिसाब पनि राख्नुपर्छ–हामीले पैसा कमाउँदा परिवारले कति समय गुमायो?
शिक्षाका लागि विदेश जाने युवाको कथा पनि यस्तै छ। विदेशमा राम्रो शिक्षा, प्रविधि र अनुसन्धानको अवसर हुन्छ। युवाले आफ्नो क्षमता विकास गर्छ। धेरैले त्यहीँ रोजगारी पाउँछन् र अन्ततः आफ्नो भविष्य त्यहीँ निर्माण गर्छन्। नेपालले उनीहरूको बाल्यकालदेखि शिक्षामा लगानी गरेको हुन्छ। परिवारले आफ्नो जीवनभरको बचत खर्च गरेको हुन्छ तर अन्ततः उनीहरूको ज्ञान, सीप र उत्पादकत्वको ठूलो हिस्सा विदेशी अर्थतन्त्रमा प्रयोग हुन्छ। यसलाई केवल प्रतिभा पलायन भनेर चिन्ता गरेर पुग्दैन। नेपालले विदेशमा सिकेको ज्ञानलाई फर्केर प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ। फर्किएका युवालाई अवसर, पुँजी, प्रविधि र बजारसँग जोड्नुपर्छ। उनीहरूलाई ‘किन फर्कियौं?’ भनेर होइन, ‘अब नेपालमा के निर्माण गर्न चाहन्छौं?’ भनेर सोध्नुपर्छ।
युवा पलायनको सबैभन्दा गहिरो कारण बेरोजगारीमात्र होइन, आशाको अभाव हो। जब एउटा युवा मिहेनत गरेपछि पनि आफ्नो भविष्य बदल्न सक्छु भन्ने विश्वास गुमाउँछ, तब देशप्रतिको सम्बन्ध कमजोर हुँदै जान्छ। राष्ट्रले आफ्ना नागरिकलाई केवल पूर्वाधार होइन, आशा पनि दिनुपर्छ। सडक, पुल, विमानस्थल र भवन आवश्यक छन् तर तीभन्दा महत्त्वपूर्ण कुरा युवाको मनमा रहेको विश्वास हो।
‘म नेपालमै बसेर पनि सफल हुन सक्छु’ भन्ने विश्वास निर्माण गर्न नसक्ने देशले युवा रोक्न सक्दैन। त्यसैले समाधान युवालाई विदेश जान रोक्नु होइन, नेपाललाई युवाले बस्न चाहने देश बनाउनु हो। शिक्षा र रोजगारीबीचको सम्बन्ध बलियो बनाउनुपर्छ। प्राविधिक शिक्षा र सीपलाई सम्मानित बनाउनुपर्छ। उद्यमशीलताका लागि सहज वातावरण बनाउनुपर्छ। सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, डिजिटल सेवा र उद्योगमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुपर्छ। अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनुपर्छ। योग्यताभन्दा पहुँच ठूलो हुने संस्कार अन्त्य गर्नुपर्छ। राज्यका संस्थाप्रति विश्वास बढाउनुपर्छ। युवाले मिहेनत गरेपछि अवसर पाउने र आफ्नो श्रमको सम्मान हुने वातावरण बनाउनुपर्छ।
राजनीतिले पनि आत्मसमीक्षा गर्नुपर्छ। युवा केवल चुनावी भीड होइनन्। उनीहरू देशको वर्तमान हुन्। उनीहरूलाई भाषणमा भविष्य भनेर सम्बोधन गरेरमात्र पुग्दैन। नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्छ। नेतृत्वमा अवसर दिनुपर्छ। योग्य र सक्षम युवालाई जिम्मेवारी दिनुपर्छ। देशमा बसेर केही गर्न चाहने युवालाई राजनीतिक पहुँचको होइन, क्षमता र इमानदारीको आधारमा अवसर दिने व्यवस्था हुनुपर्छ। राज्यप्रतिको विश्वास पुनर्निर्माण नगरी युवा पलायनको समस्या समाधान हुन सक्दैन। परिवार र समाजले पनि सफलताको परिभाषा बदल्नुपर्छ।
विदेशमा काम गर्ने छोरा सफल हुनु गर्वको विषय हो तर नेपालमा उद्योग खोल्ने छोरा पनि सफल हो। विदेशमा पढ्ने छोरी उपलब्धि हो। तर नेपालमा अनुसन्धान गर्ने छोरी पनि उपलब्धि हो। विदेशबाट पैसा पठाउने युवा योगदानकर्ता हो। तर नेपालमा अरूलाई रोजगारी दिने युवा पनि राष्ट्रनिर्माता हो। समाजले नेपालमै बसेर निर्माण गर्ने युवालाई सम्मान गर्न थालेपछि मात्र विदेश जाने सामाजिक दबाब कम हुने छ। ‘मेरो छोरा विदेशमा छ’ भन्ने परिचयभन्दा ‘मेरो छोरा नेपालमा १० जनालाई रोजगारी दिन्छ’ भन्ने परिचय पनि गर्वको विषय बन्नुपर्छ।
एक दिन हामीले गर्वका साथ भन्न सक्नुपर्छ– ‘ऊ यहीँ छ। यहीँ काम गर्दै छ। यहीँ सपना देख्दै छ। यहीँ आफ्नो परिवारसँग हाँस्दै छ र यहीँ नेपाल बनाउँदै छ।’ त्यो दिन नेपालको वास्तविक पुनर्जागरण हुने छ, आमाको प्रतीक्षा समाप्त हुने छ, बुबाको खाली कुर्सी भरिने छ, विदेशबाट आउने फोनभन्दा घरभित्रको आवाज ठूलो हुने छ र त्यो दिन रेमिट्यान्सको रकमभन्दा सन्तानको उपस्थितिलाई ठूलो सम्पत्ति मानिने छ र सायद कुनै बिहान एउटी वृद्ध आमा फेरि दुई कप चिया बनाउने छिन्।
हामीलाई अब यस्तो विकास चाहिन्छ जहाँ बैंक खातासँगै घरमा हाँसो पनि बढोस्, जहाँ पक्की घरसँगै परिवार पनि पक्की रूपमा जोडिएको होस्, जहाँ रेमिट्यान्ससँगै सम्बन्धको मूल्य बुझियोस्, जहाँ विदेश जाने बाटो खुला होस् तर नेपालमा बस्ने बाटो पनि त्यत्तिकै सम्भावनायुक्त होस्। साथै, जहाँ विदेशमा पढेको युवा फर्कन चाओस्, जहाँ विदेशमा काम गरेको युवा आफ्नो अनुभव लिएर नेपालमा उद्यम गर्न चाहोस्, जहाँ आमाबुबाले छोराछोरीलाई बिदाइ गर्नमात्र होइन, स्वागत गर्न पनि विमानस्थल जान पाऊन्। एक दिन यस्तो हुनुपर्छ, जब एउटा आमा छोरालाई विमानस्थलमा बिदाइ गर्दै रोइरहनु नपरोस्। दसैंमा मोबाइलको स्क्रिनमा टीका लगाउन नपरोस्। बुबाले छोराको फोटो हेरेर एक्लै चिया पिउनु नपरोस्।
छोराको कोठाको ढोका खोल्दा त्यहाँ पुरानो कपडामात्र होइन, छोरा स्वयं भेटियोस्। आमाको हातमा टीका होस् र अगाडि छोराको निधार होस्। घरको आँगनमा फेरि छोराछोरीको हाँसो सुनियोस्। त्यो दिन केवल एउटा परिवार खुसी हुने छैन। त्यो दिन एउटा राष्ट्रले आफ्नो भविष्य फिर्ता पाएको हुने छ किनकि समृद्धि केवल प्रतिव्यक्ति आय बढ्नु होइन।
समृद्धि भनेको वृद्ध आमाबुबाले बुढेसकालमा आफ्ना सन्तानको हात समात्न पाउनु पनि हो। विकास केवल अग्ला भवन र चौडा सडक होइन, विकास भनेको घरभित्रको खाली कुर्सी भरिनु पनि हो। सफलता केवल विदेशी भूमिमा राम्रो जीवन पाउनु होइन, सफलता आफ्नै देशको माटोमा उभिएर अरूका लागि अवसर निर्माण गर्नु पनि हो। आज नेपालको हरेक खाली आँगनले हामीलाई एउटा प्रश्न सोधिरहेको छ– ‘मेरो छोरा कहाँ छ?’
हामीसँग सधैं ‘विदेशमा छ’ भन्ने उत्तर हुनु हुँदैन। एक दिन हामीले गर्वका साथ भन्न सक्नुपर्छ– ‘ऊ यहीँ छ। यहीँ काम गर्दै छ। यहीँ सपना देख्दै छ। यहीँ आफ्नो परिवारसँग हाँस्दै छ र यहीँ नेपाल बनाउँदै छ।’ त्यो दिन नेपालको वास्तविक पुनर्जागरण हुने छ, आमाको प्रतीक्षा समाप्त हुने छ, बुबाको खाली कुर्सी भरिने छ, विदेशबाट आउने फोनभन्दा घरभित्रको आवाज ठूलो हुने छ र त्यो दिन रेमिट्यान्सको रकमभन्दा सन्तानको उपस्थितिलाई ठूलो सम्पत्ति मानिने छ र सायद कुनै बिहान एउटी वृद्ध आमा फेरि दुई कप चिया बनाउने छिन्। एउटा आफ्ना लागि, अर्को छोराका लागि। यसपटक उनले दोस्रो कप चिया फाल्ने छैनन् किनकि छोरा घरमै हुने छ।
छोरा आमाको अगाडि बसेर चिया पिइरहेको हुने छ। आमाले उसको अनुहार हेरिरहने छिन्। केही बोल्न सक्ने छैनन्। केवल उसको हात समात्ने छिन्। अनि आँखाबाट आँसु झर्ने छ तर त्यो आँसु दुःखको हुने छैन। त्यो आँसु वर्षौंको प्रतीक्षापछि आफ्नै सन्तानलाई घर फर्किएको देख्ने आमाको आँसु हुने छ र त्यही दिन हामीले बुझ्ने छौं– राष्ट्रको वास्तविक समृद्धि बैंकमा जम्मा भएको पैसामामात्र होइन, आमाको काखमा फर्किएको सन्तानमा पनि हुन्छ। त्यो दिन खाली आँगन फेरि भरिएको हुने छ। रासस