काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनले पार्टीभित्रको नेतृत्व परिवर्तनमात्र देखाएको छैन, बदलिँदो राजनीतिक परिस्थितिसँगै कांग्रेसको स्वरूपसमेत फेरिँदै गएको देखिएको छ। काठमाडौंको खुलामञ्चमा देखिएको दृश्यले पुरानो पुस्ताको प्रभाव, नयाँ पुस्ताको उत्साह र नेतृत्व हस्तान्तरणको नयाँ अध्यायलाई एकैपटक सतहमा ल्याएको छ।
महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसका पुराना र नयाँ पुस्ताका नेता एउटै मञ्चमा देखिए। देशका प्रमुख राजनीतिक दलका नेताहरू पनि उपस्थित भए। कांग्रेसका अधिकांश पदाधिकारी र शीर्ष नेताको उपस्थितिले मञ्च भरिएको थियो। तर, लामो समय पार्टीको नेतृत्व गरेका पूर्वसभापति शेरबहादुर देउवा भने अनुपस्थित रहे। उनको कुर्सी खाली रह्यो।
यो अनुपस्थिति आफैंमा महाधिवेशनको एउटा प्रमुख राजनीतिक सन्देश बन्यो। जबकि, देउवाका लागि मञ्चमा स्थान छुट्याइएको थियो। महाधिवेशनको लोगोमा उनको तस्बिरसमेत राखिएको थियो। सभापति गगनकुमार थापाका अनुसार उनलाई प्रमुख अतिथिका रूपमा निम्तो पठाइएको थियो। तर उनी महाधिवेशनमा आएनन्।
यसले कांग्रेसमा पुरानो नेतृत्व र नयाँ नेतृत्वबीचको दूरी अझ स्पष्ट बनाएको छ। करिब छ दशक लामो राजनीतिक यात्रा गरेका देउवा अहिले पार्टीको मूलधारबाट बाहिर देखिएका छन्। उनको अनुपस्थितिसँगै लामो समय उनीसँग राजनीतिक सहकार्य गरेका केही नेताहरू पनि नयाँ नेतृत्वको वरिपरि देखिएनन्।

बिपी कोइरालाका छोरा शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि र शेखर कोइरालालगायतका नेताहरूको अनुपस्थिति पनि महाधिवेशनको बदलिएको राजनीतिक समीकरणको संकेत थियो।
त्यसको ठीकविपरीत, सभापति थापा नेतृत्वको कांग्रेसले आफ्नो राजनीतिक प्राथमिकता स्पष्ट गर्न खोजेको देखिन्छ। जेन–जी आन्दोलनपछि उठेका प्रश्नलाई कांग्रेसभित्रको नेतृत्व परिवर्तनसँग जोडिएको छ। पुरानो शैली, नेतृत्वको केन्द्रीकरण र पुस्तान्तरणको प्रश्न महाधिवेशनको केन्द्रमा देखिएको छ।
थापाको भाषणमा पनि यही मनोविज्ञान झल्कियो। उनले खुलामञ्चको प्रसंग निकाल्दै भने, ‘खुलामञ्चको विशेषता फरक मान्छेलाई एकैठाउँमा ल्याइदिन्छन्। तर, खुलामञ्चमा आएपछि सबै मतभेद सकिँदैनन्। यस्ता खुलामञ्च धेरै चाहिएको छ। प्रश्न गर्दा सदस्यताबाट ननिकालियोस्।’
यो भनाइ सामान्य राजनीतिक अभिव्यक्तिमात्रै थिएन। कांग्रेसभित्र विगतमा नेतृत्वसँग असहमति राख्दा भोग्नुपरेका घटनातर्फ पनि उनको संकेत थियो। थापाले कांग्रेसलाई व्यक्तिको वरिपरि होइन, संस्थाको आधारमा अघि बढाउने सन्देश दिन खोजे। उनले बिपी र गणेशमानको विरासतलाई व्यक्तिका सन्तानसँग होइन, उनीहरूले निर्माण गरेको राजनीतिक आदर्शसँग जोडेर प्रस्तुत गरे।
‘बिपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन। तर बिपी र गणेशमानको आत्मा यहाँ छ,’ थापाको भनाइ थियो।
महाधिवेशनको अर्को विशेषता नयाँ पुस्ताको उल्लेख्य उपस्थिति हो। जेन–जी आन्दोलनपछि राजनीतिमा आएको पुस्तान्तरणको बहस कांग्रेसभित्र पनि प्रवेश गरेको छ। यसपटक पार्टीका विभिन्न तहमा युवाहरूको सहभागिता बढेको छ। यसले कांग्रेसभित्र संगठन, नेतृत्व र राजनीतिक एजेण्डामा परिवर्तनको दबाब बढाएको छ। त्यसैले १५औं महाधिवेशन नेतृत्व चयन गर्ने कार्यक्रममामात्रै सीमित देखिँदैन। यसले कांग्रेसको आगामी राजनीतिक चरित्र निर्धारण गर्ने प्रयास हुने ठानिएको छ।

एकातिर पुरानो पुस्ताको अनुभव र राजनीतिक विरासत छ। अर्कोेतिर नयाँ पुस्ताको असन्तुष्टि, ऊर्जा र परिवर्तनको चाहना छ। यी दुई पक्षबीच सन्तुलन कायम गर्नु नयाँ नेतृत्वका लागि ठूलो चुनौती हुने विश्लेषकहरुको भनाइ छ।
कांग्रेसका लागि अर्को चुनौती वर्तमान सत्ताको राजनीतिक शैली पनि हो। नयाँ राजनीतिक शक्तिको उदय, पुराना दलप्रतिको असन्तुष्टि र जनताको बदलिँदो अपेक्षाबीच कांग्रेसले आफूलाई पुनः परिभाषित गर्नुपर्ने अवस्था छ। खुलामञ्चमा देखिएको भीड र उत्साहले कांग्रेसभित्र आशा अझै जीवित रहेको देखाउँछ। तर त्यो उत्साहलाई संगठनात्मक सुधार, स्पष्ट राजनीतिक दृष्टिकोण र जनतासँगको सम्बन्धमा बदल्न नसके नेतृत्व परिवर्तन मात्रै पर्याप्त हुने छैन।
र, खुलामञ्चमा देखिएको दृश्यले एउटा कुरा भने प्रस्ट पारेको छ– कांग्रेस बदलिँदै छ। अब त्यो परिवर्तन कति गहिरो हुन्छ र त्यसले नेपाली राजनीतिमा कति प्रभाव पार्छ भन्ने परीक्षा नयाँ नेतृत्वको हुने छ।