काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनमा विपक्षी दलका नेताहरू वालेन्द्र नेतृत्वको सरकारमाथि निकै गरम सुनिएका छन् । सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न नसकेकोदेखि मुलुकलाई स्वेच्छाचारितातर्फ लैजाने जोखिम बढेको आरोप उनीहरूले लगाएका छन्।
काठमाडौंको खुलामञ्चमा आइतबार कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाए। विपक्षी नेताहरूको अभिव्यक्तिमा फरक–फरक राजनीतिक एजेण्डा भए पनि सरकारसँग संवादको अभाव, राजनीतिक अस्थिरता, लोकतन्त्र र संविधानमाथिको जोखिम तथा शासन प्रणालीमा सुधारको आवश्यकता साझा विषयका रूपमा उठेको थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सोही मञ्चमा उपस्थित थिए। महाधिवेशनमा कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर कडा प्रश्न उठाए। प्रधानमन्त्री संसद्मा उपस्थित नहुनुले संसद् खुला नरहेको सन्देश दिएको उनको भनाइ थियो।
‘संसद् खुला छैन। संसद् बन्द छ, किनकि जुन संसद्ले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ। प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति र आफूलाई नबनाउने सांसद्का निम्ति पनि,’ उनले भने, ‘यो संसद्को गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन। त्यो दिनसम्म संसद् खुला भएको हुँदैन।’
थापाले नेपालको राजनीतिमा लामो समयदेखि एउटै अनुहार दोहोरिने प्रवृत्तिले जनतामा निराशा बढाएको बताए। उनका अनुसार प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पटक–पटक नेतृत्वमा दोहोरिने र मन्त्री बनेका व्यक्ति पनि सत्तामै रहिरहने प्रवृत्तिले राजनीतिप्रति वितृष्णा बढाएको हो। ‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ उनले भने।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिप्रति सबैभन्दा गम्भीर चिन्ता व्यक्त गरे। उनले देश, लोकतन्त्र र संविधान नै अप्ठ्यारो अवस्थामा रहेको बताए। सरकारका अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले मुलुक स्वेच्छाचारितातर्फ जाने खतरा देखिएको उनको आरोप थियो।
‘देश अप्ठेरोमा छ। लोकतन्त्र नै अप्ठेरोमा छ। संविधान पनि अप्ठेरोमा छ। अहिलेका सरकारका कयौं अभिव्यक्ति क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने।
दाहालले अहिलेको राजनीतिक अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्नुपर्ने बताए। संविधान र शान्ति प्रक्रियाका बाँकी विषय टुंग्याउन नसकिए मुलुक थप अप्ठ्यारोमा जान सक्ने उनको भनाइ थियो। दाहालले सरकारको आलोचनामात्र गरेनन्, नयाँ राजनीतिक नेतृत्वलाई नयाँ ढंगले अघि बढ्न पनि आग्रह गरे। कांग्रेस सभापति थापा र रास्वपा सभापति लामिछानेलाई उनले ‘क्रमभंगता’ गर्न सुझाव दिए। आफूले विगतमा क्रमभंगता गर्दै आएको भन्दै अब नयाँ पुस्ताको पालो भएको उनको भनाइ थियो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि लगाएको मुख्य आरोप संवादहीनताको थियो। उनका अनुसार सत्तारुढ रास्वपाका सभापति लामिछानेले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई संवादमा ल्याउने प्रयास गरिरहेका छन्। तर सरकार आफैं भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नभएको उनले बताए।
‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ, राष्ट्रिय मुद्दाहरूमा,’ उनले भने, ‘तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन। सरकार संसद्सँग संवाद गर्दैन।’
पोखरेलले सरकारको यही कार्यशैलीलाई मुलुकका लागि चिन्ताको विषयका रूपमा प्रस्तुत गरे। विशेषगरी प्राकृतिक विपद्, राजनीतिक संकट र अन्य राष्ट्रिय चुनौतीको सामना गर्न सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उनले बताए। तर सरकार संवादबाट टाढिँदै गएको अवस्थामा यस्ता चुनौती सामना गर्न कठिन हुने उनको भनाइ थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारकोमात्र होइन, समग्र राजनीतिक अभ्यासको समीक्षा गर्नुपर्ने बताए। उनले अहिलेको राजनीतिक अवस्था थप जटिल बन्दै गएको बताए। दलहरूले अपनाएको निषेधको राजनीतिले समस्या समाधान गर्नुको सट्टा देशलाई थप अप्ठ्यारो अवस्थामा पुर्याएको उनको आरोप थियो। ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन बढेर गएको छ,’ उनले भने।
लिङ्देनका अनुसार समस्या व्यक्तिमामात्र सीमित छैन। राजनीतिक व्यवस्था र संविधानको अभ्यासमा पनि कमजोरी देखिएको छ। उनले संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा लिन नहुने बताए। समयअनुसार देखिएका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने उनको धारणा थियो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक समस्याको समाधानका लागि शासन प्रणालीमै सुधार आवश्यक रहेको बताए। उनले बदलिँदो समयअनुसार राजनीतिक दलहरू पनि बदलिनुपर्ने बताए।
वालेन्द्र सत्ताको बचाउमा रवि
विपक्षी नेताहरूले सरकारमाथि प्रश्न उठाइरहँदा सत्तारुढ रास्वपा सभापति लामिछानेले भने सरकारको बचाऊ गरेका छन्। उनले सरकार कमजोर भएको र जुनसुकै बेला ढल्न सक्ने भन्ने चर्चा निराधार भएको बताए।
‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ, ढल्छ कि ढल्छ भनेको सुनन्छु,’ उनले भने , ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोश भएर ढल्छ।’
लामिछानेले अहिलेको सरकार व्यक्तिलाई सत्तामा पुर्याउने उद्देश्यलेमात्र गठन नभएको दाबी गरे। इतिहास बदल्ने उद्देश्यसहित जनताले सरकार चुनेको उनको भनाइ थियो। उनले सरकार परिवर्तनका लागि सडक आन्दोलनलाई अस्वीकार गर्दै निर्वाचनलाई मात्र वैधानिक विकल्पका रूपमा प्रस्तुत गरे।
यससँगै लामिछानेले कांग्रेसलाई पनि एक कार्यकाल प्रतिपक्षमा बसेर जनताको सेवा गर्न आग्रह गरे।