काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनस्थलमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिने छ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। पाँच वटा कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परिक्षण र आकस्मिक सेवा प्रदान गरिने उनले जानकारी दिए।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स ( आपत्कालीन स्वास्थ्य सेवाकर्मी) तथा नर्सहरू रहनेछन् भने मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क सेवा प्रदान गरिने छ।
यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धारामा रहेको बिपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा केसीले उल्लेख गरे। त्यसका लागि महाधिवेशनस्थलमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ।
यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल ड्युटी’को व्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डा केसीले जानकारी दिए।