काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेका छन्।यसक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार काठमाडौं क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।
दलित क्लस्टरतर्फ उम्मेदवार रहेकी उनलाई मेनुका भुसालले हराएकी हुन्। भुसाल बूढानीलकण्ठ नगरपालिका–६ की वडा सदस्य हुन्। सुनार गत पुसमा भएको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेकी थिइन्।
विशेष महाधिवेशनबाट कांग्रेसले संशोधन गरेको विधानअनुसार महाधिवेशनमा सहभागी हुन केन्द्रीय सदस्यसहितका नेताहरू पनि सम्बन्धित क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था छ।
यसैगरी पुसमा भएको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का पनि काठमाडौं–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग पराजित भएका हुन्। १३२ मतसहित पुडासैनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा खड्काले १०१ मतमात्रै ल्याउन सके। एक जनाको कोटामा पाँच जनाबीच भएको प्रतिस्पर्धामा खड्काले दोस्रो बढी मत ल्याएका हुन्।
यता पूर्वमन्त्री तारिणीदत्त चटौत पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए।
शेखरको क्षेत्रमा लफडा, सहमहामन्त्री संग्रौलामाथि हातपात
नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ–६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ। सुन्दरहरैंचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर तोडफोड र कुटपिट भएको हो।
झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुव्र्यवहार भएको छ। यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।
बुधबार उम्मेदवारी मनोनयनको कार्यसूची तय गरिएकोमा अधिवेशनको औपचारिक उद्घाटनअघि नै असन्तुष्ट समूहले मञ्च र हलमा तोडफोड सुरु गरेका थिए। विवाद बढ्दै गएपछि नेताहरूबीच नै कुर्सी हानाहान र हातपात भएको थियो।
संस्थापनपक्षले डा. कोइराला निकट कार्यकर्ताहरूले योजनाबद्ध रूपमा अधिवेशन बिथोल्न आक्रमण र तोडफोड गरेको आरोप लगाएको छ। यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका कोइरालापक्षीय नेता देवराज तामाङले असहयोग गरेको भन्दै नेतृत्वले पूर्वसांसद तबदारलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर अधिवेशनको प्रक्रिया अघि बढाएको थियो।
निर्वाचन आयोगलाई जानकारी
देउवा समूहले पार्टीको १५औं महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ। संस्थापनपक्षले बढाएको महाधिवेशनको प्रक्रियालाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको सो समूहले आयोगलाई बुधबार जानकारी गराएको हो।
आफूहरूले पार्टीको महाधिवेशनबारे कार्यतालिकासहित आयोगलाई जानकारी गराएको नेता एनपी साउदले बताए। ‘हाम्रो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएर केन्द्रीय प्रतिनिधि, संयोजक र निर्वाचन अधिकृत जिल्ला जिल्लामा खटिसक्नुभएको छ। बिहीबारदेखि देशभर वडा अधिवेशन सुरु हुँदै छ। यसबारे हामीले आयोगलाई जानकारी गराइसकेका छौं,’ साउदले भने।
देउवा समूहले २० गते गाउँ तथा नगरपालिका अधिवेशन, २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका छ। यो समूहको महाधिवेशन मंसिर २१ देखि हुँदै छ। संस्थापनपक्षले भने असोज १८ गते महाधिवेशनको उद्घाटन गर्दै छ।
शेखरनिकट नेताहरु देउवा समूहको अधिवेशनमा सहभागी हुँदै
कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू देउवा समूहले आयोजना गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका छन्। कोइराला स्वयं भने अधिवेशन प्रक्रियामा तटस्थ रहने भए पनि उनीनिकट नेता–कार्यकर्ताहरूले व्यक्तिगत निर्णयका आधारमा अधिवेशनमा सहभागिता जनाउने तयारी गरेका हुन्। यद्यपि शेखरनिकट नेताहरु संस्थापन समूहको महाधिवेशनमा पनि सहभागी हुँदै छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइरालानिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने जानकारी दिएका छन्। उनका अनुसार अघिल्लो अधिवेशनमा पनि केही नेता–कार्यकर्ताले समूहगत निर्णयभन्दा व्यक्तिगत विवेकका आधारमा सहभागिता जनाएका थिए। यसपटक पनि त्यही आधारमा केही नेता–कार्यकर्ता अधिवेशन प्रक्रियामा सहभागी हुने उनले बताएका छन्।
शेखरनिकट नेता सञ्जयकुमार गौतमले पनि देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुनेहरूलाई आफूहरूले नरोक्ने बताए।