चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बिहीबार साँझ ८:०० बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ-ठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो।
सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई शुक्रबार दिउँसो पार गराइएको छ। दुवै सडकका विभिन्न ठाउँहरूमा ढुंगा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
सडकलाई एकतर्फी खुलाएर दिउँसो रोकिएका सवारी कटाइएको हो। सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन्। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो।