काठमाडौं– आगामी अक्टोबरदेखि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले तिर्दै आएको प्रहरी रिपोर्ट प्रमाणीकरणको शुल्क ५० प्रतिशतले घट्ने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीबीच बिहीबार भएको भेटमा उक्त जानकारी गराइएको संघले जनाएको छ।
भेटमा संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको प्रतिनिधिमण्डलले प्रहरी रिपोर्ट प्रमाणीकरणविना नै श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको संघका महासचिव हिराबहादुर डाँगीले बताए।
सो क्रममा राजदूत अलशाम्सीले प्रमाणीकरणको विषय युएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित भएकाले पूर्णरूपमा हटाउन सम्भव नभए पनि आगामी अक्टोबरदेखि प्रमाणीकरणमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी गराएका थिए। साथै, प्रमाणीकरण गर्न हाल लागिरहेको समयावधिलाई घटाएर तीन कार्यदिनभित्र सम्पन्न हुने व्यवस्था मिलाइएकोसमेत जनाइएको छ।
हाल रोजगारीमा उक्त मुलुक जाने श्रमिकले पुलिस रिपोर्ट प्रमाणीकरणका लागि १४ हजार रुपैयाँभन्दा बढी तिर्दै आएका छन्। अक्टोबरदेखि भने यस्ता श्रमिकले केही राहत पाउने भएका छन्। उक्त निकट भविष्यमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा उक्त मुलुक जाने नेपालीहरुका लागि रिपोर्ट प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत राजदूतबाट व्यक्त भएको संघले जनाएको छ।
त्यसैगरी, युएईले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्न थालेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत नियमित उडान सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी पनि राजदूत अलशाम्सीले गराएको डाँगीले बताए।
यसले विगतमा भारत हुँदै गन्तव्य मुलुक जान बाध्य नेपाली श्रमिकलेसमेत राहत पाउने अपेक्षा गरिएको छ।
संघले वैदेशिक रोजगार व्यवसायीलाई उक्त विमानस्थलमार्फत श्रमिक पठाएर नियमित हवाई सेवा सञ्चालनलाई थप सहज बनाउने वातावरण सिर्जना गर्न अनुरोधसमेत गरिएको छ।