काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशको अधिकांश स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिएको छ । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै देशका विभिन्न स्थानमा भारी, धेरै भारी र अति भारी वर्षाको चेतावनी दिएको हो ।
बुधबार महाशाखाले असोज ९ गतेदेखि ११ गतेसम्म यस्तो प्रकृतिको वर्ष हुन सक्ने पूर्वानुमान गरेको हो । ‘गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाकोसमेत सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।’
बुधबार साँझसम्ममा कोशी र मधेसका अधिकांश स्थानमा बादल लागेको र बागमती प्रदेशमा हल्का वर्षा सुरु भइसकेको मौसमविद् डेभिड ढकालले बताए । ‘बंगालको खाडीको आसपासमा बनेको न्यून चापीय क्षेत्रले गहिरो न्यून चापीय प्रणाली भएर बिहीबारसम्ममा आन्ध्रा प्रदेश पार गर्ने देखिएको छ । यसले नेपालमा बिहीबार, शुक्रबार र शनिबार वर्षाको गतिविधि बढ्ने देखिन्छ,’ मौसमविद् ढकालले भने । हावाको गतिले पनि वर्षालाई सहयोग गर्ने उनले बताए ।
वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि आवश्यक कार्य गर्न आग्रह गरिएको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ । केही क्षेत्रमा भारी हिमपातसमेत हुने देखिएकोले प्रतिकार्यसमेत गर्नुपर्ने मौसमविद् ढकालले बताए । ‘बिहीबार वर्षाको गतिविधि बढ्दै जाने छ । शुक्रबार भारी वर्षा र अति भारी वर्षाको सम्भावना छ । शुक्रबार कोशी, बागमती, गण्डकीको हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ,’ मौसमविद् ढकालले भने, ‘शनिबार पनि वर्षा जारी रहने र आइतबारदेखि मौसम सुध्रने देखिन्छ ।’
महाशाखाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा पुगेर पछिल्लो अवस्थाको अपडेट लिएका थिए । उनले यसको तयारीबारे विभागमा बुझेका थिए । ‘रेनफल कुन डिरेक्सनमा आइरहेको छ, कुन–कुन नदीमा बाढी आउन सक्छ यसको बारेमा हामीलाई लिस्ट दिनुहोला,’ गृहमन्त्री गुरुङले प्रश्न गरेका थिए ।
बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ७७ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेको छ । गृहसचिव केदारनाथ शर्माको नेतृत्वमा भएको छलफलमा वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लाहरुमा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई पुर्याउनुपर्ने सूचना, सवारी आवागमन बन्दलगायतको विषयमा छलफल भएको थियो ।
छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रहरुमा सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेका थिए ।
के छ सरकारको पूर्वतयारी ?
देशभर भारी वर्षाको पूर्वानुमानपछि सरकारले तीनवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखेको छ । प्राधिकरणसँगको छलफलपछि समन्वय गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अलर्टमा राखिएको हो ।
सुरक्षा प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई अत्यावश्यक बाहेक जिल्ला नछोड्न भनिएको छ । विपद्मा उद्धार र जोखिम न्यूनीकरणका लागि अब्बल मानिँदै आएको सशस्त्र प्रहरीले १० हजारभन्दा बढी सुरक्षाकर्मी विपद्का लागि नै तयारी अवस्थामा राखेको छ ।
सशस्त्र प्रहरीले देशभर ६४९ स्थान जोखिमयुक्त सूचीमा राखेको छ । नदी किनारका तटीय क्षेत्र, पहिरो र भिरालो स्थान, उपत्यका र भारी वर्षा हुँदा निकास साँघुरो भएका ठाउँलाई जोखिम क्षेत्र बनाइएको छ । मौसम विभागको सूचना लिएर भारी वर्षा हुने स्थानमा सुरक्षाकर्मीको तैनाथ बढाइएको हो ।
त्यस्तै भारी वर्षामा उद्धार गर्न र न्यूनीकरणका लागि आवश्यक पर्ने डुंगा, सूचनाका लागि ड्रोन, गोताखोरलगायतको टोली तयार गरिएको गृह मन्त्रालयले जनाएको छ । मौसमलाई ध्यानमा दिएर हवाईदेखि सडकसम्मको यात्रा गर्न भनिएको छ । नेपाली सेनाले पनि मनसुन पूर्व तयारी योजना अनुसार नै स्रोत र साधनहरू तयारी अवस्थामा राखेको छ ।
मौसम विभागले अनुमान गरेरझैँ भारी वर्षा र त्यसको असर देखिएमा तत्कालै जिल्ला प्रशासन कार्यालयले निर्णय लिन सक्ने छन् । प्राधिकरणले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ‘भर्चुअल’ बैठकबाट यो अधिकार दिएको हो ।
बाढीपहिरोको कारण कुनै ठाउँको सडकमा सवारी आवतजावत रोक्नु पर्ने भए प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले निर्णय गर्ने अधिकार दिइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । ‘सतर्कता अपनाउनुहोला । आधिकारिक सूचना लिनुहोला । अत्यावश्यकबाहेक यात्रा नगर्नुहोला । बाढीपहिरो र डुबानको जोखिम रहेको ठाउँमा नबस्नुहोला । सरकारले पूर्वतयारीका लागि सबै संयन्त्र सक्रिय बनाएको छ । त्रासमा रहनुभन्दा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्दछु,’ प्रवक्ता काफ्लेले भने ।
त्यस्तै विद्यालयलगायत अन्य क्षेत्रमा असर पर्ने देखिएमा बिदा दिने निर्णय पनि जिल्ला प्रशासन कार्यालय गर्न सक्ने छ । तर, देशभर नै प्रभावित भए केन्द्रबाट नै निर्णय हुन सक्ने विषयमा पनि छलफल भएको छ । तत्काल नै बिदा वा सवारी बन्द गर्दा असर पर्ने देखिएकाले सूचनाको आधारमा जोखिम भएमा केही समय अगाडि मात्र निर्णय गर्न भनिएको छ ।
घण्टा-घण्टामा पूर्वसूचनाको तयारी
प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले वर्षा र बाढीबारे हरेक घण्टा पूर्वसूचना दिइने बताएका छन् । ‘पूर्वसूचना प्रणालीलाई हामी घण्टा–घण्टामा अद्यावधिक गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौं । कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ । पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौं । नागरिकको मोबाइलमा आउने एसएमएस सन्देशलाई गम्भीरतापूर्वक हेरिदिनुहुन अनुरोध गर्दछु,’ उप्रेतीले भने ।
समुद्रमा बन्ने ठूलो आँधी प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको बताइएको छ । मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ ।
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयले निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो । साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र सम्भावित विपद्का समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन र आवश्यकताअनुसार संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक सहजीकरण गर्न पनि अनुरोध गरेको छ ।
असोज ८ र ९ गते देशभरका विद्यालय बन्द गर्न निर्देशन
शिक्षा तथा खेलकुद मन्त्रालयले यही असोज ९, १० र ११ गते देशका विभिन्न भागमा हुन सक्ने भारी वर्षा र प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै देशभरका शिक्षण संस्था बिदा दिन तथा सञ्चालनमा रहेका परीक्षाहरू स्थगित गर्न अनुरोध गरेको छ ।
अवधिमा देशका धेरैजसो स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेकोले यसबाट बाढी, पहिरो, डुबान, सडक अवरोधका साथै विद्युत् र सञ्चार सेवासमेत प्रभावित हुनसक्ने भएकाले उच्च पूर्वतयारी र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ (सबै) लाई सम्बोधन गर्दै मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले जारी गरेको सूचनामा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालयहरूमा बिदा दिनुपर्ने भनिएको छ । यसैगरी असोज ९ देखि ११ गतेसम्म तोकिएका सम्पूर्ण विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायका परीक्षाहरू आवश्यकतानुसार स्थगित गर्नुपर्ने भनिएको छ ।
विपद्को समयमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न, बालबालिकाहरूलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन सम्पूर्ण अभिभावकहरूसँग आग्रह गरिएको छ ।
सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित वर्षा र बाढीपहिरोबाट सावधानी अपनाउन आग्रह गरेका छन् । उनले पानी परिरहेको समयमा यात्रा नगर्नसमेत आग्रह गरेका छन् ।

‘पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौं । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ,’ प्रधानमन्त्री शाहले भनेका छन् । उनले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित गर्न भनेका छन् ।
प्रधानमन्त्री राष्ट्रसंघ जाँदा यसअघि पनि भारी वर्षा
२०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका उडेका थिए । ओली असोज १४ गते काठमाडौं आइपुगे । उक्त वर्ष असोज ११ र १२ गते काभ्रेको रोशी र ललितपुरको गोदावरी नगरपालिकाको टीकाभैरव क्षेत्रमा बाढीले ठूलो नोक्सानी पुर्याएको थियो ।
मुलुकले ठूलो विपत्ति व्यहोर्दा देशका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरिसकेका थिए । बाढीका कारण नख्खु क्षेत्रमा नागरिकको उद्धार हुन सकेन । त्यतिबेलाका गृहमन्त्री रमेश लेखकले भिजिभिलिटी नपुग्दा हेलिकप्टर उड्न नसकेकोले उद्धार हुन नसकेको बताएका थिए ।