काठमाडौं- काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गरिएको छ। संविधान दिवसको अवसर पारेर शनिबारदेखि छ वटा रुटमा ३० वटा बस सेवा सुरु गरिएको काठमाडौं महानगरपालिका (कामपा)ले जानकारी दिएको छ।
कामपाको नेतृत्वमा उपत्यकाका नौ वटा स्थानीय तहको सहकार्यमा रात्रिकालीन बस सेवा विस्तार गरिएको हो। यसअघि कामपाले साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रुपमा रात्रिकालीन यातायात सञ्चालनमा ल्याएको थियो।
'काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आबद्ध भएका हुन्,' कामपाले जनाएको छ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन्। यसमा साझा यातायातकातर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन्।
संविधान दिवसको अवसरमा पारेर साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो। त्यसलगत्तै छ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो।
समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन्। ‘परीक्षणकालमा अभ्यास गरिएका दुई वटा रुटमा चार वटा थपेका छौं। सात वटा गाडीलाई ३० वटा पुर्याएका छौं। चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौं। यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ। अब यो सेवा रोकिँदैन। निरन्तर चल्छ। दिगो चल्छ,’ उनले भनिन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनुपर्नेमा त्यो विषय अहिले आएको नदेखिएको बताए। 'मेट्रो नभएपछि बिआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपर्थ्यो। त्यसको पनि केही संकेत छैन। संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन। यसकारण हामीले स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौं। यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ प्रमुख महर्जनले भने।

रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने भएका छन्। बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा व्यहोर्ने सहमति भएको छ। जसअनुसार काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको कामपाले जानकारी दिएको छ। सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ।
कुन रुटमा कति बस ?
जगाती-सूर्यविनायक-ठमेल: ६ वटा
गोदावरी-लगनखेल–बूढानीलकण्ठ: ६ वटा
रिङरोड (घडीको दिशा र विपरीत दिशामा): ८ वटा
कीर्तिपुर-जमल: ४ वटा
टाखेल–ठमेल: २ वटा
नागढुंगा-एयरपोर्ट: ४ वटा
तस्बिर सौजन्य: कामपा