काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनी भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर शनिबार साँझ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारकातर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री वाग्लेले बताए। साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ।
बिहीबार उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो। शुक्रबार उनी पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसै दिन उनले भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका थिए। सोही दिन साँझ भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद असरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी भएका थिए। सोही दिन दिउँसो उनले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरेका थिए।
शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी भएका थिए। शनिबार नै उनले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए। सोही दिन उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।