काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता छ।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल–भारतबीच रहीआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे।
भेटमा नेपाल-भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरेका थिए।
यसअघि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए।