काठमाडौं (प्रस)– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै गत साउन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले बढेको जानकारी दिएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो।
यसैगरी खुद द्वितीय आय (खुद ट्रान्सफर) दुई खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७४८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो।