काठमाडौं– नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेनर्सले सहकार्य थालेका छन्। ‘स्टार्टअप’लाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो।
भृकुटीमण्डपमा जारी ‘नवौं नेपाल ल्याण्ड एण्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र बृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो। ‘नेपालमा व्यवसाय निर्माणः सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणासहित सुरु गरिएको कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्नेमात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा व्यावसायिक विचार र सम्भावना भए पनि त्यसलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्ने संरचना, मार्गदर्शन र बजार पहुँचको कमी चुनौतीका रूपमा रहेको बताएका थिए। नयाँ उद्यमीले व्यवसाय सुरु गरेपछि कानुनी, वित्तीय, व्यवस्थापकीय र बजारसम्बन्धी विषयमा समयमै सही परामर्श नपाउँदा जोखिम बढ्ने भएकाले संस्थागत सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
बृहतप्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरको सीमामा नराखी ‘अर्बान लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अघि बढाउने जनाएको छ। यसको अवधारणा स्पष्टता, संरचना र सही दिशालाई मुख्य आधार बनाएर उद्यमीलाई व्यवसाय सुरु गर्नेदेखि विस्तार गर्ने चरणसम्म सहयोग पु¥याउने रहेको छ।
कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ। पहिलो चरणमा ‘एक्जिक्युसन हब’मार्फत व्यवसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ। त्यस्तै ‘एक्सपट्र्स क्लिनिक’मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराउने योजना छ।
उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न ‘अपर्चुनिटी एक्सेस सिस्टम’ विकास गरिनेछ। कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्राण्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने पनि कार्यक्रमको उद्देश्य छ। त्यसैगरी स्थानीय बजारमा सीमित व्यवसायलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक व्यावसायिक संरचना निर्माणमा सहयोग गरिनेछ।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन्। उनका अनुसार उद्यमशीलताले आम्दानीको अवसर सिर्जना गर्नुका साथै व्यक्तिलाई आफ्ना योजना र लक्ष्यअनुसार काम गर्ने आधार प्रदान गर्छ।
उनले नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताउँदै धेरै नयाँ उद्यमी सिर्जना हुँदा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने धारणा राखिन्।
बृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम कम गर्न सक्ने बताइन्। उनका अनुसार उद्यमीले कम जोखिममा व्यवसाय अघि बढाउन सके लगानीकर्ता तथा साझेदारले समेत प्रतिफल प्राप्त गर्ने र त्यसबाट दीर्घकालीन रूपमा अर्थतन्त्रमा मूल्य सिर्जना हुने अवस्था बन्न सक्छ।
नेपाल चेम्बर अफ कमर्सको देशव्यापी व्यावसायिक सञ्जाल र बृहतप्रेनर्सको प्राविधिक तथा परामर्श क्षमताबीचको सहकार्यले उद्यमीलाई व्यवसायिक अवसरसँग जोड्न सक्ने उनको भनाइ छ। घरजग्गा तथा निर्माण क्षेत्रमा समेत नयाँ उद्यमीको सम्भावना रहेको एक्स्पो आयोजक समितिका संयोजक रोशन भोयद्योले बताए। उनका अनुसार निर्माण, आवास र घरजग्गासँग सम्बन्धित क्षेत्रमा प्रविधि र नयाँ व्यवसायिक अवधारणाका लागि पर्याप्त अवसर रहेकाले युवालाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ।
बृहतप्रेनर्सका कार्यक्रम व्यवस्थापक सुदर्शन शिवाकोटीले कार्यक्रमको कार्यान्वयनका लागि विभिन्न चरणका योजना अघि सारिएको जानकारी दिए। उनका अनुसार व्यवसायको वर्तमान अवस्था पहिचान गरी सुधारका क्षेत्र पहिल्याउन ‘बिजनेस हेल्थ चेकअप’ सञ्चालन गरिनेछ। त्यस्तै व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने ‘बिजनेस ग्रोथ इन्क्युबेसन’ कार्यक्रम सञ्चालन हुनेछ।
उद्यमीको अवस्थाअनुसार ‘आइडिया फेज’, ‘ग्रोथ सिकर्स’ र ‘स्केल उद्यमी’ गरी तीन तहमा सदस्यता योजना बनाइएको छ। यसबाट व्यवसायको चरणअनुसार आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।
कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ। ती सहरमा कम्तीमा ३०० भन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र एक हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
नेपालमा नयाँ व्यवसायको संख्या बढाउनु मात्र पर्याप्त नभई सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउने चुनौती रहेको यस सहकार्यको मुख्य आधार हो। व्यवसाय सुरु गर्न चाहने युवालाई विचारदेखि कार्यान्वयनसम्म र सञ्चालनमा रहेका उद्यमीलाई वृद्धि तथा विस्तारसम्म आवश्यक सेवा, परामर्श र अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको नवौं सिजी प्रपर्टी जग्गा तथा आवास एवम निर्माण प्रदर्शनीका सल्लाहकार उत्तम झाको भनाइ छ।
‘नवौं नेपाल ल्याण्ड एण्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’सँगै सुरु भएको यो कार्यक्रमले विशेषगरी आवास, निर्माण र घरजग्गासँग सम्बन्धित नयाँ व्यवसायिक अवधारणालाई समेत अवसरसँग जोड्ने अपेक्षा गरिएको छ।