काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्रालयले सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । स्वदेशमै रोजगारीको अवसर विस्तार र श्रम बजारको मागअनुरुपका जनशक्ति तयार पार्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ । जसबाट वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय नेपालबाट प्रत्येक वर्ष करिब आठ लाख युवा रोजगारीको खाेजीमा विदेशिएको तथ्यांक छ । मुलुकबाट दैनिक दुई हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा जाने गरेका छन् । यहाँ रोजगारी नपाइने र पाए पनि त्यसबाट जीवनयापन गर्न नसकिने हुँदा परदेशिन बाध्य भएको युवाहरुले बताउने गरेका छन् । नेपालका करिब ११ देखि १२ प्रतिशत युवा बेरोजगार रहेको सरकारी अध्ययनले देखाउँछ । मुलुकमा पर्याप्त आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा यस्तो अवस्था आएको विज्ञहरुले बताउने गरेका छन् ।
मन्त्रालयले गर्ने कार्यक्रमले बेरोजगार युवालाई सीपयुक्त बनाएर बजारको मागसँग जोड्ने जनाइएको छ । साथै, युवाहरु बेरोजगार भएर रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतालाई यो कार्यक्रमले नियन्त्रण गर्ने मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले बताइन् । ‘युवाहरु बेरोजगार नहोउन् र उद्योग, व्यवसाय गरिरहेकाहरुले पनि मागअनुसारको जनशक्ति पाउन् भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भनिन्, ‘मुलुकमा रोजगारीको अवसर पाएपछि स्वाभाविकरुपमा युवाहरु विदेशिने टे«ण्डमा कमी आउँछ । हुन त आफ्नो इच्छाले जान चाहनेहरु गई नै हाल्नुहुन्छ । तर मेलाले बाध्यात्मक वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सघाउने देखिन्छ ।’
मुलुकमा रोजगारीको अवसर पाएपछि स्वाभाविकरुपमा युवाहरु विदेशिने टे«ण्डमा कमी आउँछ । हुन त आफ्नो इच्छाले जान चाहनेहरु गई नै हाल्नुहुन्छ । तर मेलाले बाध्यात्मक वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सघाउने देखिन्छ ।
मीरा आचार्य
प्रवक्त, श्रम मन्त्रालय
मन्त्रालयका अनुसार उद्योगी तथा व्यवसायीहरुसँग आगामी पाँचदेखि छ महिनामा आवश्यक जनशक्तिको मागसम्बन्धी जानकारी संकलन गरिने छ । जसको आधारमा युवाहरुलाई सीप सिकाएर आवश्यक जनशक्ति तयार पारिने छ । यसले रोजगारदाताको माग र युवाहरुको सीपबीचमा हुने बेमेलको अन्त्य गर्ने जनाइएको छ । मेलामा कृषि, नयाँ प्रविधि, कृत्रिम वौदिकता (एआई) र डिजिटल सीपसम्बन्धी कार्यस्थलमा आधारित तालिम दिएर सीधै रोजगारी दिने जनाइएको छ । मेलाले युवाहरुलाई विगतको जस्तो परम्परागत तालिममा नभई समयसापेक्ष सीप प्रदान गर्दै रोजगारी दिने देखिन्छ ।
मेला आयोजनाको विषयमा श्रममन्त्री रामजी यादव इटहरीमा आयोजित कार्यक्रममा सहभागी भई निजी क्षेत्रसँग व्यापक छलफल गरेको जनाइएको छ । सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले कार्यक्रमलाई लिएर आफूहरु सकारात्मक रहेको र आवश्यक सहकार्य गर्न तयार रहेको बताएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा २०८३/८४ देखि २०९२/९३ लाई रोजगार प्रवद्र्धन दशक घोषणा गरेको थियो । सोहीअनुरुप मेला आयोजनाको तयारी भइरहेको छ । हाल सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी बाचापत्रमा समेत विश्वव्यापी श्रमबजारमा आएको परिवर्तनलाई आत्मसात् गर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने जनाएको थियो । जसमा ‘रिमोट वर्क’, डिजिटल रोजगारीजस्ता अवधारणा अघि सार्दै श्रमिक नभई सेवा निर्यात गर्ने परिपाटी स्थापित गर्ने वाचा गरेको थियो । रास्वपाले पाँच वर्षमा २५ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । सीप तथा रोजगार मेलाले सफलता पाए बाचापत्रमा घोषणा गरिएका योजनाहरु केही हदसम्म पूरा हुने देखिन्छ ।
मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रम कोशी प्रदेशको इटहरीबाट सुरु भइ अन्य प्रदेशमा विस्तार गर्दै लगिने जनाइएको छ ।