एएफपी- जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले दुई पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षामा पठाएको छ । फ्रान्सेली गुयानास्थित कौरौ अन्तरिक्ष केन्द्रबाट सोमबार राति ‘वेगा-सी’ रकेटमार्फत ‘फ्लेक्स’ र ‘सेन्टिनेल-३ सी’ उपग्रह प्रक्षेपण गरिएको हो ।
प्रक्षेपणको करिब दुई घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षामा स्थापित गरिएको एएफपीले जनाएको छ । ‘फ्लेक्स’ उपग्रहले उष्ण लहरलगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्यांक संकलन गर्नेछ । यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तनबीचको सम्बन्ध अध्ययन गर्नेछ ।
युरोपेली सङ्घ (इयु) को कोपर्निकस पृथ्वी अवलोकन कार्यक्रमअन्तर्गतको ‘सेन्टिनेल-३ सी’ ले समुद्रको तापक्रम, छालको उचाइ र समुद्री धाराका साथै जमिनको प्रयोग तथा भू-आवरणसम्बन्धी तथ्यांक संकलन गर्नेछ । प्राप्त तथ्यांकले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताए । उनका अनुसार उपग्रहबाट प्राप्त तथ्यांकले पृथ्वीमा भइरहेका वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पु¥याउनेछ ।