भिल्नियस- रुस-युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकू विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । राष्ट्रपति गितानास नौसेदाले मङ्गलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताए ।
लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणमा ड्रोन छिमेकी बेलारुसबाट आएको र पश्चिमतर्फ गइरहेको थियो । ड्रोन देशको मध्य भागमा रहेको कौनास ताल नजिकको ग्रामीण क्षेत्रमा खसेको जनाइएको छ । विदेशमन्त्री केस्टुटिस बुड्रिसले लिथुआनियाको हवाई सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहयोगी राष्ट्रलाई धन्यवाद दिए ।
यसैबीच, पोल्यान्डले पनि युक्रेनमा आक्रमण गरिरहेका रुसी मानवरहित विमानको गतिविधिका कारण आफ्नो हवाई क्षेत्रमा पूर्वसावधानीस्वरूप सुरक्षा अभियान सुरु गरेको जनाएको छ । उक्त कदम विशेष जोखिममा रहेका क्षेत्र आसपासको हवाई क्षेत्र सुरक्षित गर्न चालिएको पोल्यान्डले जनाएको छ ।
यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा संरचनामाथि आक्रमण रोक्न सहमति गरेको घोषणा गरेपछि भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले पनि सहमति पालना गरे युक्रेन तनाव कम गर्ने कदमका लागि तयार रहेको बताएका थिए ।
यसैबीच, युक्रेनी सेनाले रुसको क्रास्नोडार क्षेत्रमा सैन्य लक्ष्यविरुद्ध लामो दूरीका आक्रमण जारी राखेको जनाएको छ भने रुसले युक्रेनतर्फ १०२ ड्रोन प्रक्षेपण गरेको बताइएको छ । यसअघि मे महिनामा नेटोका लडाकू विमानले इस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेको युक्रेनी ड्रोन खसालेका थिए । सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि बाल्टिक क्षेत्रमा नेटोले विदेशी ड्रोन खसालेको त्यो पहिलो घटना थियो ।
लिथुआनियाका राष्ट्रपति नौसेदाले जुलाईमा आफ्नो देश रुसविरुद्ध पश्चिमी आणविक प्रतिरोध क्षमतामा सहभागी हुन चाहेको बताउनुभएको थियो । त्यसयता लिथुआनियाले आफ्नो भूमिमा आणविक हतियार भण्डारण गर्न रोक लगाउने संवैधानिक प्रावधान हटाउने प्रक्रिया अघि बढाएको छ ।