बुटवल– रूपन्देहीका उद्योगी व्यवसायीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि साढे तीन करोडभन्दा बढी सहयोग गरेका छन्।
यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग जम्मा गरेका हुन्।
सहयोग रकमबराबरको चेक उद्योगपति कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्मा पौडेलले संयुक्तरूपमा अर्थमन्त्री डा .स्वर्णिम वाग्लेलाई बुधबार हस्तान्तरण गरेका थिए।
कम्पनीले बाढीप्रभावित क्षेत्रका पीडितलाई करिब ३० लाख रुपैयाँबराबरको करेन्ट चाउचाउ पनि उपलब्ध गराएको जनाएको छ।
यसैगरी रूपन्देहीको बुटवलमा रहेको आधुनिक सुपर क्वालिटी फ्रेस हाउस तथा सुद्वोधन गाउँपालिकामा रहेको फस्ट च्वाइस फुड्स लिमिटेड, फ्रेञ्च फ्राइज उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ११ हजार १११ रूपैयाँ सहयोग प्रदान गरेको जानकारी दिए।
उद्योगी पौडेलले यो महाविपत्तिका बेला सामाजिक उत्तरदायित्वअन्र्गत सहयोग गरेको बताए।