ललितपुर- रसुवा-भोटेकोशी विपद् प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मनोसामाजिक परामर्शसम्बन्धी सम्पन्न प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी रहेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनीहरुले विपद्बाट विस्थापित परिवार रहेका आश्रयस्थलमा पुगेर प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
प्रशिक्षणका क्रममा बाढी प्रभावित नागरिकले भोगिरहेका विभिन्न मानसिक तनाव तथा समस्याबारे छलफल गरिएको थियो । त्यस अवसरमा सहभागीले बालबालिका, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक प्राकृतिक विपत्तिका कारण मानसिक रूपमा बढी प्रभावित र जोखिममा रहेको बताएका थिए ।
प्रशिक्षणमा डा प्रभाकर पोखरेल, डा रविन बस्नेत तथा मनोविद् कपिल शर्मा, गृष्मा पनेरु र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।
कांग्रेसले विपद्पीडित नागरिकलाई तत्काल राहतसँगै मानसिक तथा मनोसामाजिक सहयोग पनि आवश्यक रहेको भन्दै प्रशिक्षित जनशक्तिलाई प्रभावित क्षेत्र र आश्रयस्थलमा परिचालन गर्ने यसअघि नै जनाएको थियो ।