काठमाडौं- नेपालले ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
नेपालले जितको लागि दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको हो । ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेनकुमार रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानलाई ६० रनमा समेट्नेक्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए लिँदा रोहितकुमार पौडेल र ललित राजबंशीले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन । त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए ।
यससँगै नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)सँगको भेट पक्का गरेको छ । आजै भएको अर्को सेमिफाइनल खेलमा युएइले हंकङलाई हराउदै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ । फाइनलमा नेपालले युएइलाई पराजित गरेमा एसिया कपमा स्थान बनाउनेछ ।