पोखरा- नेपाल प्रिमियर लिग (एनपिएल) का सम्पूर्ण खेल पोखराको मालेपाटन ग्राउन्डमा निःशुल्क प्रत्यक्ष प्रसारण गरिने भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आयोजनामा हुन लागेको उक्त लाइभ स्क्रिनिङ कार्यक्रमको व्यवस्थापन प्रचार नेपाल प्रालिले गर्ने छ।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने स्क्रिनिङमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा एनपिएलका खेल हेर्न पाउने छन्। कार्यक्रमले पोखराका क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै खेलको रोमाञ्चकता अनुभव गर्ने अवसर प्रदान गर्ने छ।
खेलको प्रत्यक्ष प्रसारणसँगै दर्शकलाई मनोरञ्जन, खानपिन तथा साथीभाइसँग बसेर क्रिकेटको आनन्द लिने वातावरण तयार गरिने आयोजकले जनाएको छ। कार्यक्रममार्फत क्रिकेटप्रतिको उत्साह बढाउनुका साथै पोखरामा सामूहिक रूपमा खेल हेर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
एनपिएल नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताका खेललाई ठूलो स्क्रिनमा प्रत्यक्ष हेर्न पाउने भएपछि पोखराका क्रिकेटप्रेमीका लागि यो कार्यक्रम थप आकर्षण बन्ने अपेक्षा गरिएको छ।