काठमाडौं– काठमाडौं उपत्यकामा ग्यासको हाहाकार हुन थालेको हप्ता दिन पुगिसकेको छ। भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण काठमाडौं आउजाउ गर्ने मुख्य सडक पृथ्वी राजमार्ग अवरुद्ध भएकोमा कृष्णभीरको पहिरोले थप प्रभावित बन्यो।
यसकारण ग्यास आयात निकै कम भएको छ। यता उपभोक्ता भने चाडबाड नजिकिएको भन्दै ग्यास अभाव हुने डरले अतिरिक्त सिलिण्डर भण्डार गर्न थालेका छन्। यो बेला सरकारले उद्योगीसँग सडकदेखि आकाशसम्म जसरी हुन्छ ढुवानीमा सहजीकरण गर्नुपर्ने हो।
तर उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगीलाई पाता फर्काउने धम्की दिएकी छन्। ‘मैले हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस्। सबै उद्योगीहरूलाई बसाएर भनेको छु। तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन,’ बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास अभाव सल्टाउने अन्तिम उपाय सुझाउँदै मन्त्री साहले भनिन्।
यतिमात्र हैन मन्त्री साहले ग्यास उद्योग खारेज गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइन्। मन्त्रीले सबै ग्यास उद्योग खारेज गरेर दुई वटामात्र राख्नुपर्ने सुझाइन्। ‘हामीसँग ग्यास उद्योग ५८ वटा छ। अब ५९ वटा बनाउने हो कि होइन? हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुईटा। सबै खारेज गर्नुपर्छ,’ साहले भनिन्।
अहिले उपभोक्ता अत्तालिएका कारण ग्यासको हाहाकार बढ्न थालेको उद्योगीहरु बताउँछन्। राज्यको भर नलागेर उपभोक्ता अत्तालिँदा बजारमा हरेक सामानको हाहाकार हुने गर्छ। यसमा राज्यले भरोसा दिनुपर्नेमा उल्टै धम्की दिनु बढी नै भएको उद्योगी भक्त हमाल बताउँछन्। ‘अहिलेको यस कठिन परिस्थितिमा उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा बलियो सरकारको नाममा उद्योगमन्त्रीको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो, सम्पूर्ण उद्योग व्यवसायीमाथिको प्रहार हो,’ रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन) का अध्यक्ष हमालले भने।

मैले हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस्। तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।
गौरीकुमारी साह
मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
०००
उद्योगीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन तयार छौं। अहिले पाता कसेर जानुपर्छ भनेर हुन्छ त? अभिभावक हो नि उहाँ त। अभिभावकीय जिम्मेवारी निभाउनुपर्छ नि। अब उद्योगी आन्दोलनमा जान्छांै भनेका छौं।
दीवानबहादुर चन्द
अध्यक्ष, नेपाल एलपी ग्यास उद्योग संघ
०००
माननीय मन्त्रीज्यू, बोली तत्काल फिर्ता लिनुस्। ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने र कर्मचारीले सहयोग नगरेको भन्नेचाहिँ बढी बोल्नुभएको हो।
ज्योति बानियाँ
अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ मन्त्री साहको बोलीका कारण उपभोक्ताले नै हण्डर पाउने बताउँछन्। ‘माननीय मन्त्रीज्यू, बोली तत्काल फिर्ता लिनुस्, ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने र कर्मचारीले सहयोग नगरेको अलिक बढी बोल्नुभएको हो। समस्याको परिणाम होइन कारण पत्ता लगाउनुहोस्, टिप्पणी सुन्दा तपाईंहरुलाई अझै कृत्रिम अभाव, लूटखसोट, भू–अर्थराजनीतिको बोध भएजस्तो लागेन। तपाईंहरुको बुझाइ र बोलीले हामी उपभोक्ताले अझै हण्डर पाइने भैयो,’ अध्यक्ष बानियाँले भने।
यता नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दीवानबहादुर चन्दले अहिले उद्योगमन्त्रीले अभिभावकीय जिम्मेवारी निभाउनुपर्नेमा उल्टै धम्की दिनु गलत प्रवृत्ति भएको बताए। मन्त्रीको अभिव्यक्तिले उद्योगी रुष्ट रहेको चन्दको भनाइ छ।
भनाइ फिर्ता नलिए उद्योगी आन्दोलनमा उत्रनेसमेत चन्द बताउँछन्। ‘उद्योगी थुन्नुपर्छ पनि भन्नुभएको छ मन्त्रीले। यस्तो बोल्ने हो त उहाँले? उद्योगीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन तयार छौं। अहिले पाता कसेर जानुपर्छ भनेर हुन्छ त? अभिभावक हो नि उहाँ त। अभिभावकीय जिम्मेवारी निभाउनुपर्छ नि। अब उद्योगी आन्दोलनमा जान्छौं भनेका छौं। हामी बैठक राखेर यसबारे निर्णय लिन्छौं,’ अध्यक्ष चन्दले भने।
नियमानुसार ग्यास उद्योगको लाइसेन्स खारेज गरे आफूहरु तयार रहेकोसमेत उनले बताए। ‘खारेज गरे भइगयो नि सके। उद्योगीले कानुनसम्मत लिएको होला नि लाइसेन्स,’ चन्दले भने।
नेपाल ग्यास उद्योगका संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले आफूहरु यस्तो संकटमा पनि ग्यास आपूर्ति सहज बनाउन लागिपरेको बताउँछन्। यस्तो अवस्थामा मन्त्रीले उद्योगीमाथि यस्तो आक्षेप लगाउनु दुर्भाग्य भएको घिमिरेले बताए। ‘हामीले दिनरात नभनी ग्यास ल्याएर आपूर्ति सहज बनाउन प्रयास गरिरहेका छौं। यही बेला उद्योगीमाथि गम्भीर आक्षेप लगाउने काम मन्त्रीबाट हुनु दूर्भाग्यपूर्ण छ,’ अध्यक्ष घिमिरेले भने।
उद्योगी-कर्मचारीमाथि उद्योगमन्त्री साहको आक्रोश
हामीसँग ग्यास उद्योग ५८ वटा छ। अब ५९ वटा बनाउने हो कि होइन? हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुईटा। सबै खारेज गर्नुपर्छ।
मैले पनि हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस्। सबै उद्योगीहरूलाई बसाएर भनेको छु। तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो।
उहाँले भन्नुभो, विधेयकहरू ल्याउनुस्। विधेयक केका लागि, कहाँ ल्याउनुहुन्छ? तपाईं विधेयक बनाउन कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारीहरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ। यो चाहे तपाईं हुनुस्, अर्को पार्टी होस्, चाहे हाम्रो पार्टी होस्। सबै उद्योगीहरूको हिसाबले हाम्रो कर्मचारीतन्त्रले चाहिराखेको छ। तपाईं भन्नुस्, यो चेञ्ज गरेर ल्याउनुस्, ‘हुँदैन, मिल्दैन हजुर’ भन्छन्। तपाईं १० चोटि भन्नुस्, ‘मिल्दैन’ भनेर भन्छ। के गरौं?
यस्तो बलियो सरकारमा त यो हाल छ भने कर्मचारीहरूको... अरू सरकारलाई म दोष दिँदिनँ। त्यो बेला त विचरा सबै मिलेर बनाएको सरकार थियो। अहिले यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन।
विधेयक लिएर आउनुस् भन्यो, जस्ताको त्यस्तै आउँछ। चेञ्ज गर्न भन्नुस्, मान्दैन कर्मचारी। यहीँ हुनुहुन्छ सचिवज्यूहरू, मान्दैनन्। जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छन्। उहाँहरूसँग छलफल गर्ने, उहाँहरूको सल्लाह–सुझाव लिने हो नि ! उहाँहरूले भनेको हामीले राख्नै पर्छ रे?
यहाँ उद्योगधन्दा खोल्ने वातावरण छैन, किनभने उद्योगीहरूको हिसाबले यहाँ बनाइएको छ, सबै नियम–कानुन त्यसरी छ। चेञ्ज गर्न खोज्दा तपाईं सबैको आँखाको तारो म बनेको छु। सबै उद्योगीहरूले मलाई टार्गेट गरिरहेका छन्। म धेरै चेञ्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन। कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न। तपाईं भन्नुहुन्छ नि लोकसेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्दियो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो ! तर पुग्दैन, किनभने तपाईंलाई साथ दिँदैन त्यहाँ। एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ।
युवाहरूले चाह्यो भने यो कर्मचारीहरूलाई ठीक पारेर अगाडि बढ्न सक्छ। तर मैले आदेश दिने हो, त्यो आदेशको पालना भएन भने म के गर्न सक्छु? यस्तो बलियो सरकारको मलाई साथ छ, तर पनि मलाई कर्मचारीहरूले यति दुःख दिएको छ कि, म केही पनि गर्न सक्दिनँ। त्यस्तो अवस्थामा पुर्याएको छ।
सबै समितिबाट उद्योगीहरूलाई निकाल्नुपर्छ। यहाँ आफ्नै हिसाबले, सरकारको हिसाबले, जो देशहितमा छ, राष्ट्रहितमा छ त्यसरी कानुन बनाउनुपर्छ भन्दाखेरी के भन्छ– ‘हजुर मैले सकिनँ, योभन्दा बढी म गरेर ल्याउन सक्दिनँ’ भनेर सीधै जवाफ फर्काउँछ। सबैको अगाडि भनिरा’छु। यहीँ हुनुहुन्छ, कोही मान्दैन।
५८ वटा हाम्रो देशमा चाहिएको होइन नि ! ठूलो–ठूलो कन्ट्रीमा तीन वटाभन्दा बढी छैन ग्यास उद्योग, यहाँ किन ५८ वटा छ? किनभने करोडौं लिएर उनीहरूलाई लाइसेन्स दिएको छ। उद्योगीहरूले पनि त्यो करोडौं त उठाउनुपर्यो नि ! उनीहरू उठाइरहेको छ।
मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु। यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ। मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा। तर देशका लागि गर्ने हो भने यो हामीले बुझ्नैपर्ने कुरा हो। पार्टीको कुरा होइन, देशको कुरा हो। जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ। अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो।
(उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा व्यक्त विचार)