काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन अमान्य भएको बताएका छन्। बिपी जयन्तीको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले पार्टीको सभापति आफैं भएको दाबीसमेत गरे।
आफ्नो अनुमतिविना विशेष महाधिवेशन हुनै नसक्ने देउवाको तर्क थियो। ‘कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ। विशेष अधिवेशन पार्टीले बोलाउने हो। सुवर्णशमशेर पार्टी सभापति हुँदा बिपी कोइरालासहितको सहमतिमा विशेष महाधिवेशन बोलाइएको थियो,’ देउवाले भने, ‘यसपटक पूरा सनाखत गराएर महाधिवेशन गराएको छैन। को के हो? को हो? कहाँको हो? नभनी गगन थापाले विशेष महाधिवेशन बोलाउनुभयो। विशेष महाधिवेशनमा भाग लिने को हो? सूचना त पाउनुपर्यो नि? कुन जिल्लाको क्षेत्रको को हो? सनाखत गर्नु पर्दैन?’
गत पुसमा गगन थापा र विश्वप्रकाश शर्माको संयुक्त पहलमा भृकुटीमण्डपमा विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनले गगन नेतृत्वमा नयाँ कार्यसमिति गठन भइसकेको छ। तर देउवाले भने आफू नै सभापति भएको तर्क पेस गरे। ‘विशेष अधिवेशनमा बोलाइएका व्यक्तिहरूको सनाखत हुनुपर्छ। अहिले पार्टी सभापति म छु। विशेष अधिवेशन बोलाइदिने भन्दाखेरी हुन्छ दाइ, विचार गर्छु भन्दाभन्दै बोलाइदिए,’ देउवाले भने।
यसपटक पूरा सनाखत गराएर महाधिवेशन गराएको छैन। विशेष अधिवेशनमा बोलाइएका व्यक्तिहरूको सनाखत हुनुपर्छ। अहिले पार्टी सभापति म छु।
शेरबहादुर देउवा
निवर्तमान सभापति, नेपाली कांग्रेस
०००
पार्टीलाई एकजुट पारौं। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौं। यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो। पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु।
डा. शशांक कोइराला
नेता, नेपाली कांग्रेस
गगन नेतृत्वको कांग्रेसले आगामी असोज १६ गतेबाट काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसका लागि असोज ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेस महामन्त्री प्रदीप पौडेल बताउँछन्। यता देउवा समूहले भने मंसिर २१ गतेदेखि काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ।
दुई पक्षको महाधिवेशन कार्यतालिका आएसँगै कांग्रेस फुटको संघारमा पुगेको कांग्रेसकै शीर्ष नेताहरु बताउँछन्। पूर्वमहामन्त्री नेता डा. शशांक कोइरालाले पार्टी विभाजनको सम्भावनासमेत देखिएको प्रतिक्रिया दिए।
‘पार्टीलाई एकजुट पारौं। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौं। यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो। लोकतन्त्रको सफलता हो’, कोइरालाले भने, ‘हामीले बनाएको संविधानको सफलता हो। पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु।’
देउवा समूहले कोइरालाको नेतृत्वमा महाधिवेशन आयोजना गर्न लागेको हो। उनले सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने धारणा राखे।