काठमाडौं- मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख मलेसियन रिंगिट बराबरका ड्रोन सहयोग गरेको छ। हालै रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
विपद्का समयमा प्रभावित क्षेत्रको अवस्थाबारे तत्काल जानकारी लिन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र सडकमार्गबाट पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ। ड्रोन सहयोगको व्यवस्थापन तथा समन्वय मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनएडिएमएले गरेको हो। कम्पनीका अनुसार ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिमको मुख्यालयमा एनएडिएमएलाई हस्तान्तरण गरिएको थियो। मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत नेपालमा खटिएको स्माट टोलीमार्फत ड्रोन नेपाल ल्याइएको हो।
यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएको र नेपाल सरकारकै स्वामित्वमा रहने प्रोटोनले जनाएको छ। नेपालमा प्रयोग गर्नुअघि स्माट टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिने बताइएको छ। ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेब थोब र एनएडिएमएका महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति थियो। कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेब र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता थियो।


कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे छिटो र स्पष्ट जानकारी प्राप्त गर्न ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउने बताए। उनले यो सहयोग तत्कालीन मानवीय आवश्यकतामा मात्र सीमित नभई नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा व्यक्त गरे। नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स मार्फत प्रोटोनका सवारीसाधन बिक्री हुँदै आएका छन्। कम्पनीले विपद् तथा कठिन परिस्थितिमा नेपालीहरूसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
यसै क्रममा जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्नुका साथै विभिन्न जिन्सी सहयोगसमेत गर्दै आएको जनाएको छ। प्रोटोन, जगदम्बा मोटर्स र शंकर ग्रुपको सहयोगले विपद्बाट प्रभावित नेपाली समुदायलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुग्नुका साथै नेपालको विपद् व्यवस्थापन र पुनरुत्थान प्रयासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।