काठमाडौं- नेपाली कांग्रेसले भोटेकोशी बाढीको विपद् सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धार केन्द्रीत रहेर स्थानीय जनप्रतिनिधिसँग आज छलफल गरेको हो ।
कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भोटेकोशीमा आएको विपत्तिलगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्नुपर्छ भन्ने नीतिका साथ सरकारलाई सहयोग गरेको बताए । उनले रसुवाका जलविद्युत् आयोजनाका सुरूङमा फसेकाहरूको व्यक्तिहरूको उद्धारका लागि सुरुआती चरणमा प्राविधिकको सहयोग नलिएका कारण उद्धार प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।
एउटालाई परेको विपत्तिमा अर्काले सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर सहयोग गर्न पनि उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । छलफलमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला पार्टी सभापतिहरूले पीडित र प्रभावित नागरिकले उद्धार र राहतका लागि सङ्घीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिएका थिए।
साथै उनीहरूले राहत सामग्रीको प्रभावकारी वितरणका लागि एकद्वार प्रणाली स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरका महानगर, नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी थिए ।