काठमाडौं- एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो।
यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन्।
त्यसैगरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए। बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक/एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो। मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे। उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन्।
त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन्। मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। त्यस्तै, ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ।