- साउन २६ गते सभापति गगन थापासँग भेटेका शेखरले शुक्रबार पूर्वसभापति शेरबहादुर देउवालाई भेटे
- साउन २९ गते सुकेधारामा संस्थापनइतरले आयोजना गरेको भेलामा पनि शेखरले एकताको आह्वान गरेका थिए
- पार्टी फुटबाट रोक्न शेखर दुवै समूहका नेताहरुलाई मनाउने प्रयासमा लाग्दा दोस्रो तहका नेताहरु पनि उत्तिकै सक्रिय
काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारितासम्बन्धी मुद्दा पुनरवलोकन गर्ने भएसँगै बल्झिएको विवाद सुल्झाउन नेता डा. शेखर कोइराला सक्रिय बनेका छन् । पछिल्लोपटक शेखरले कांग्रेस सभापति गगन थापा र पार्टीको पूर्वसभापति शेरबहादुर देउवासँग भेटेका छन् ।
विवादका कारण फुटको संघारमा पुगेको कांग्रेस एक बनाउन शेखर लागिपरेको उनीनिकट नेताहरु बताउँछन् । शुक्रबारमात्र शेखरले चुनदेवी पुगेर देउवालाई पार्टी एक बनाएर लैजान सुझाएका थिए । कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार भेटमा देउवा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा देखिएका छन् । तर, पार्टी मिलाउने विषयमा उनीहरूको मात्र पहल पर्याप्त नहुने उनको भनाइ छ । ‘दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ । तर, मिल्ने-मिलाउने उहाँहरूको हातमा छैन । बल त सभापति गगन थापाको हातमा छ । उहाँले पहल गर्नुपर्यो,’ शेखरको भनाइ उद्धृत गर्दै थपलियाले भने ।
त्यसअघि साउन २६ मा शेखर भेट्न गगन विशालनगर पुगेका थिए । उक्त भेटमा दुई नेताबीच पार्टी एकताकै विषयमा छलफल भएको थियो । गत पुसमा विशेष महाधिवेशनपछि गगन सभापति बनेसँगै कांग्रेस विवाद चर्किएको हो । देउवापक्षले आधिकारिताका विषयमा आफूहरु बलियो रहेको दाबी गर्दै आएको छ । यदि आधिकारिकता नदिए नयाँ पार्टी खोल्ने तयारी गरिरहेको छ ।
तर सर्वोच्चले निस्सा दिएको कारण पार्टी फुट तत्कालका लागि टरेको छ । यही मेसोमा शेखर भने मध्यमार्गी उपाय अपनाउँदै एकताको पक्षमा उभिएका हुन् । सुकेधारामा भएको संस्थापनइतरको भेलामासमेत शेखरले एकताका लागि आह्वान गरेका थिए ।
गगनसँग संवाद गर्न देउवा तयार
कांग्रेसका पूर्वसभापति देउवा आइतबार चुनदेवीस्थित संस्थापनइतरको सम्पर्क कार्यालयमा पुगे । सभापतिकै हैसियतमा कार्यालयमा केही समय बिताएका देउवा पार्टी एकताका लागि सकारात्मक रहेको बताइएको छ ।
सिंगापुरबाट लामो उपचारपछि फर्किएलगत्तै २८ साउनमा चुनदेवीस्थित इतरपक्षको कार्यालय पुगेका देउवा आइतबार पनि पुनः सोही कार्यालय पुगेका हुन् । २९ साउनमा इतरपक्षको राष्ट्रिय भेला र ३१ साउनको समापन समारोहमा देउवाले सम्बोधन गरेका थिए । त्यसयता आफ्नै निवासमा नेता-कार्यकर्तासँग भेट गर्दै आएका देउवा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले चुनदेवीस्थित सम्पर्क कार्यालयमा राखेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।
पछिल्लोपटक देउवाले नेता-कार्यकर्तासँग भेट गर्दै आएका छन् । आइतबार बिहान उनले कर्ण मल्ल, नैनसिंह महरसहितका नेतासँग भेट गरेका थिए । उनीसँग भेट्नेहरूले पार्टीमा एकता कायम गराउनेगरी संवाद गर्न आग्रह गर्दै आएका छन् । पछिल्लो टकराव कम गर्न आफूले गगनसँग छलफल गर्ने वचन देउवाले डडेलधुरा कांग्रेसका पूर्वसभापति मल्ललाई दिएका हुन् । उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन चुनदेवी पुग्दा उक्त वचन पाएको मल्लको भनाइ थियो ।
पार्टीमा विवाद भएपछि उनले देउवासँग बोलचालसमेत बन्द गरेका थिए । आफूले छ वर्षपछि देउवासँग भेटेको र स्वास्थ्यलाभको कामनासँगै कांग्रेसलाई आगामी १५औं महाधिवेशनतर्फ लैजाँदा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए । पार्टीभित्रको एकता कायम गर्न सभापति थापासँग संवाद गर्ने आश्वासन देउवाले दिएको मल्लको भनाइ छ । यस विषयमा कांग्रेस सभापति थापा भने मौन छन् । आइतबार ‘नेपालको पुँजीबजार, आर्थिक लगानीको आधार’ विषयक छलफलमा पुगेका थापाले पुँजीबजार खस्कँदै गएको बताएका थिए ।
संवादबाटै अघि बढ्न उपसभापति शर्माको आग्रह
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशन रोक्नेभन्दा पनि संवादबाट पार्टीका विवादहरू हल गरिनुपर्ने बताएका छन् । मंसिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार कांग्रेससँग नरहेको उल्लेख गर्दै शर्माले संवादमै जोड दिएका हुन् ।
‘एकातिर सानेपाबाट महाधिवेशनको तयारी हुँदै गर्दा अर्कोतर्फ भेला गरेर असहमतिहरू राख्दै अदालतहरू ढोका ढक्ढक्याउँदै गर्दा सायद प्रदीप दाइले भन्नुहुन्थ्यो होला कि, राजनीतिक दलहरूबीचको विवादको समाधानको खोजी पार्टी कार्यालयभित्रको कोठामा गर्नुस्, अदालतको ढोकामा होइन भनेर,’ शर्माले भने । उनका अनुसार संविधानको धारा २६९ को ४ ले कुनै पनि राजनीतिक दलले पाँच वर्षमा अधिवेशन गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ ।
उनले असोज १६ मा १५औं महाधिवेशन सुरू हुने पनि बताए । ‘महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरू भएन भने मंसिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उपर गम्भीर प्रश्न उब्जिन्छ । यो विषयलाई मलाई लाग्छ हाम्रा श्रद्धेय नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ । हामीलाई अलमलिने अवस्था छैन । पार्टी कार्यालयको ढोकामात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर कांग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौं,’ शर्माले भने ।