काठमाडौं- भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १६५ रनको सहज जित निकालेको छ । जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ । गले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंका २०६ रनमै समेटियो ।
श्रीलंकाका सोनल डिनुशाले सर्वाधिक ८९ रनको योगदान गरे । उनले १२८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यसैगरी, कप्तान धनन्जय डी शिल्भाले ५९, केशर नवान्थाले २० र लाहिरु इगालागामेले १६ रन बनाए ।
भारतका मानव सुथरले ६, प्रसिद्ध कृष्णले दुई तथा रविन्द्र जडेजा र मोहम्मद सिराजले एक-एक विकेट लिए । भारतले दोस्रो इनिङमा १९३ रन बनाएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतका ऋषभ पन्तले सर्वाधिक ६६ रनको योगदान गरे । उनले ६९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।
यसैगरी, देपदत्त पडिकलले ४४ र केएल राहुलले ३५ रन बनाए । श्रीलंकाका असिथा फर्नान्डोले चार, प्रभात जयसुरियाले तीन, लाहिरु कुमाराले दुई र केशर नुवान्थाले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा ४६२ रन बनाएको थियो । श्रीलंकाले पहिलो इनिङमा २८४ रनमात्र बनाउन सकेपछि भारतले १७८ रनको अग्रता बनाएको थियो ।